१७ बैशाख २०८१, सोमबार

इंग्लिस प्रिमियर लिग: नयाँ सिजनको पहिलो खेलमा लिभरपुल र चेल्सीको बराबरी

premier league

इंग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सीले नयाँ सिजनको पहिलो खेलमा एक-एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

चेल्सीको मैदान स्ट्याम्फोर्ड ब्रिजमा भएको खेलमा लिभरपुलले एक गोलको अग्रता जोगाउन सकेन । खेलको १८ औँ मिनेटमा डियाजले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए । उनले मोहम्मद सलाहको पासको सदुपयोग गरेका थिए । प्रतिस्पर्धात्मक खेलको ३७ औँ मिनेटमा चेल्सीका डिसासीले चिलवेलको पासमा गोल गरे । बल पोजिसनमा ६५ प्रतिशत कब्जा जामएको चेल्सीले कुल चार प्रहार तारगेटमा राखेपनि गोल थप्न सकेन। लिभरपुलले भने एक सट अन तार्गेट गर्दा एक गोल गरेको थियो । यो बराबरीपछि दुवैले एक-एक अंक बनाएका छन् ।

यस्तै अर्को खेलमा ब्रेन्टफोर्ड र टोटनहमले पनि अंक बाँडेका छन् । लिगको पहिलो खेलमा दुवै टिमले दुई-दुई गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । ११ औँ मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै टोटनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । २६ औँ मिनेटमा ब्रेन्टफोर्डले बराबरी गोल फर्कायो । टोटनहमका खेलाडीले गल्ती गर्दा पाएको पेनाल्टीलाई ब्रेन्टफोर्डका बेरिन मेबुमोले गोलमा परिणत गरे ।

३६ औँ मिनेटमा योवान वेइसाले गोल गरेपछि ब्रेन्टफोर्डले २–१ को अग्रता बनायो । तर पहिलो हाफको अतिरिक्त समयको चौथो मिनेटमा टोटनहमका इमर्सन सुजा जुनियर्सले गोल गर्दै खेललाई २–२ को बराबरी अवस्थामा फर्काए । दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न नसकेपछि खेल बराबरीमा सकियो । बराबरीपछि दुवै टिमले प्रिमियर लिगको आफ्नो पहिलो खेलमा एक-एक अंकमा चित्त बुझाए ।

    सम्बन्धित समाचार...