२२ बैशाख २०८१, शनिबार

मध्यरातमा पाकिस्तानको संसद विघटन, तीन दिनभित्र कामचलाउ सरकार गठन गरिने

pakistan

कार्यकाल सकिन तीन दिन अगावै पाकिस्तानको संसद विघटन भएको छ ।

राष्ट्रपति डा. अरिफ अल्वीले प्रधानमन्त्री शहबाज शरिफको सिफारिसमा बुधबार मध्यरातमा संसदको तल्लो सदन नेसनल एसेम्बली भंग गरेका हुन्।

संसद विघटन भएसँगै वर्तमान मन्त्रिपरिषद्को कार्यकाल पनि अन्त्य भएको पाकिस्तानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री शहबाज शरिफ र संसदमा विपक्षी दलका नेताले अब तीन दिनभित्र कामचलाउ प्रधानमन्त्रीको नाम टुंगो लगाएर राष्ट्रपतिलाई सिफारिस गर्नु पर्नेछ ।

तीन दिनभित्र पनि कुनै एक नाममा सहमत हुन नसेकेको अवस्थामा सभामुखद्वारा गठित समिति र सो समितिले पनि सर्वसम्मत गर्न नसकेको अवस्थामा निर्वाचन आयोगले अन्तरिम प्रधानमन्त्रीको नाम टुंगो लगाइ राष्ट्रपतिसमक्ष सिफारिस गर्नु पर्नेछ । आम निर्वाचन भएर नयाँ सरकार गठन नहुँदासम्म काम चलाउ सरकारले नै सत्ता सञ्चालन गर्नेछ ।

आगामी निर्वाचनको मिति लम्ब्याउने उद्देश्यले कार्यकाल सकिन तीन दिनमात्रै बाँकी रहँदा संसद विघटन गरिएको हो । संवैधानिक व्यवस्थाअनुसार स्वतः कार्यकाल सकिएमा त्यसको ६० दिनभित्र तर विघटन भएको अवस्थामा भने ९० दिनभित्र आम निर्वाचन गराउनु पर्ने प्रावधान छ।

संसद विघटन भएर देश आम निर्वाचनमा जाने तयारी गरिरहँदा पूर्व प्रधानमन्त्री इमरान खानको राजनीतिक भविष्य भने अन्योलमा परेको छ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भई तीन वर्षे जेल सजाय भोगिरहेका खानलाई मंगलबार मात्रै निर्वाचन आयोगले पाँच वर्ष चुनावमा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाएको थियो । संकटग्रस्त खानका लागि अब अदालत नै एकमात्र सहाराको रुपमा रहेको छ ।

    सम्बन्धित समाचार...