२५ बैशाख २०८१, मंगलवार

डेंगु नियन्त्रणका लागि धरानमा सबै विद्यालय बन्द

harka

सुनसरीको धरान उपमहानगरपालिकामा डेंगु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन आज बन्द गरिएको छ । मंगलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो ।

विद्यालयमा पठनपाठन बन्द गरी डेंगु नियन्त्रण अभियान चलाउने निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले जानकारी दिए । उपमहानगरले बिदाको बेला विद्यालयका शिक्षक, विद्यार्थीलाई डेंगु नियन्त्रणका लागि अभियानमा सहभागी गराउन आह्वान गरेको छ । बैठकले शिक्षक र विद्यार्थीसँगै सबै वडामा सामाजिक सङ्घसंस्था, टोल विकास समिति, स्थानीय समुदाय एकसाथ आ–आफ्नो वडाको टोलटोलमा खटिन अनुरोध गरेको छ ।

डेंगु फैलाउने एडिज एजिप्टाई जातको लामखुट्टेको फुल पार्ने स्थान, लार्भा र प्युपा बन्ने स्थान पहिचान गरी नष्ट गर्ने अभियान चलाउन विद्यालय बन्द गरिएको धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले जनाए । वडा समिति कार्यालय आ–आफ्नो वडामा निःशुल्क जाँच र औषधि वितरणका लागि स्वास्थ्य शिविर सञ्चालन गरे पनि लामखुट्टेको फुल, लार्भा र प्युपा नै नष्ट नगरेसम्म डेंगु नियन्त्रण नहुने देखिएकले व्यापक जनपरिचालन गर्ने निर्णय गरिएको धरान–१५ का वडाध्यक्ष नरेशकुमार इवारामले जनाए ।

धरानमा डेंगुबाट गत जेठ तेस्रो सातायता एक बालिकासहित आठजनाको मृत्यु भइसकेको छ । निजी क्लिनिक, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतमा डेंगुका बिरामीले शय्या पाउन मुश्किल भएको छ । यही साउन १५ गतेसम्ममा चार हजार दुई सय १८ जनाको जाँच गर्दा दुई हजार चार सय ९५ जनामा डेंगु पोजिटिभ पाइएको धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जनाए ।

    सम्बन्धित समाचार...