२२ बैशाख २०८१, शनिबार

नाइजरमा चौथो सैन्य कू : अपदस्थ राष्ट्रपतिको पार्टी मुख्यालयमा तोडफोड र आगजनी

130549774 epa976fire

पश्चिम अफ्रिकी देश नाइजरमा सैन्य कू समर्थक प्रदर्शनकारीले अपदस्थ राष्ट्रपति मोहमेद बजुमको पार्टी मुख्यालयमा तोडफोड र आगजनी गरेका छन् ।

कूसमर्थकको समूहले संसद् भवन अगाडि पनि प्रदर्शन गरेको र त्यसमध्ये केहीले रुसी झन्डा प्रदर्शन गर्नुका साथै फ्रान्स विरोधी नारा लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपतिको सुरक्षार्थ खटिएको सेनाको विशेष ब्रिगेडका सैनिकले नै राष्ट्रपतिलाई बन्दी बनाउनुका साथै सत्ता कब्जाको घोषणा गरेको हो ।

सैनिक नेतृत्वले पनि आफू देशलाई अस्थिर बनाउने पक्षमा नरहेको भन्दै सत्ता कब्जाको दोस्रो दिन उक्त कूप्रति आफ्नो समर्थन रहेको घोषणा गरेको थियो ।

‘कू’ गर्नेहरूले अझैसम्म आफ्ना नेताको नाम घोषणा नगरेकोले अहिले नाइजरको नेतृत्व कसको हातमा छ भन्ने कुरा स्पष्ट भइनसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सरकारी टेलिभिजनले बुधवार राति जारी गरिएको सैन्य कू घोषणाको दृश्य नै बारम्बार देखाइरहेका छन् । राजधानी नियामीमा बिहीबार भारी वर्षाका कारण केही ढिला गरी भए पनि पसल र बजारहरू खुलेका थिए भने सैन्य कूको पक्षमा प्रदर्शन भएका थिए ।

कूसमर्थकहरुले दलहरू भ्रष्टाचारमा लिप्त भएको र सुरक्षा अवस्था सुधार्न तथा लामो समयदेखि जारी जिहादी विद्रोह अन्त्य गर्न पर्याप्त काम नगरिएको आरोप लगाएका छन् । चरमपन्थी इस्लामिक विद्रोहकै कारण छिमेकी देशहरू माली र बुर्किना फासोमा पछिल्ला दिनमा सैन्य कू भएका छन् । ती दुवै देशका सैन्य नेताहरू फ्रान्ससँग टाढिँदै रुससँग नजिकिएका छन् ।

यता नाइजरमा भएको कूको फ्रान्स, अमेरिका, संयुक्त राष्ट्रसंघ, पश्चिम अफ्रिकी आर्थिक संगठन लगायतले भर्त्सना गरेका छन् । यी सबैले अपदस्थ राष्ट्रपति बजुमलाई तत्काल रिहा गर्न र संवैधानिक व्यवस्था पुनर्स्थापित गर्न माग गरेका छन् । रुसले पनि राष्ट्रपति बजुमलाई तत्काल रिहा गरिनुपर्ने बताएको छ।

सन् १९६० मा फ्रासेन्सी उपनिवेशबाट स्वतन्त्र भएयता भूपरिवेष्टित देश नाइजरमा भएको यो चौथो सैन्य कू हो ।

    सम्बन्धित समाचार...