५ जेष्ठ २०८१, शनिबार

प्रहरीले बरामद गर्‍यो ५४ किलोको अनौठो ढुंगा

Dhunga e1690513459175

गोरखामा प्रहरीले एउटा अनौठो ढुंगा बरामद गरेको छ । सदरमुकामस्थित एक घरमा भेटिएको टल्कने ढुंगा बहुमूल्य ‘क्वार्ज क्रिस्टल’ भएको प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरी कार्यालयमा राखिएको उक्त ढुंगा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले समेत अवलोकन गरिसकेका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाको स्टोरमा कडा सुरक्षा निगरानीबीच सेतो रङको पारदर्शी ढुंगा २७ दिनदेखि राखिएको छ । गोरखा नगरपालिका ७, सतिपिपलस्थित चन्द्रमान शाहीको घरबाट प्रहरीले यो ढुंगा गत असार १४ गते ल्याएको हो । किनबेच गर्ने उद्देश्यले केही व्यक्ति गोरखा आएको सूचनाका आधारमा ५४ केजी तौलको ढुंगा बरामद गरिएको प्रहरीको भनाइ छ ।

‘ठूलो रकममा बिक्री हुँदै छ र यसलाई हेर्न विभिन्न ठाउँबाट मानिसहरूको चलखेल रातबिरात हुन गइरहेको छ भन्ने सूचनाका आधारमा र ढुंगा रहेको धनीको पनि सुरक्षामा जोखिम हुने तथा आपराधिक घटना हुन सक्ने जोखिमका आधारमा हामीले उहाँहरूकै घरबाट बरामद गरेर हामीले प्रहरी कार्यालयमा ल्याएका छौं,’ गोरखाका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले भने ।

चन्द्रमानको घरमा राखिएको ढुंगालाई उनीहरूले देवताका रूपमा पुज्दै आएका थिए । सधैँ कपडाले छोपेर राखिने उक्त ढुंगा आफूहरूको कुल देवता भएको र पुस्तौँदेखि पूजा गर्दै आएको उनीहरूको दाबी छ ।

‘चेपे घाट र बूढीगण्डकीबाट नकटाउनु भनेर पिता पुर्खाले भनेको पनि थियो । त्यसकारण पिता–पुर्खाका अनुसार यो कटाउनु पनि हुँदैन । सो ढुंगा हामीले आफ्नो तिथिमा पूजा गर्न पाउनुपर्छ,’ ढुंगा भेटिएको घरका मूली चन्द्रमानले कान्तिपुर टेलिभिजनसँग भने ।

प्रहरीले ढुंगा ल्याइसकेपछि साउने संक्रान्तिलगायत विभिन्न तीनवटा तिथिमा चन्द्रमानकी पत्नी राममाया शाहीले प्रहरी कार्यालयमै पुगेर ढुंगालाई पूजा गरेकी छन् ।

‘पिता–पुर्खादेखि कसैलाई नदेखा भनेको चिज लगेर गएपछि मेरो सम्पत्ति मलाई चाहिन्छ पूजा गर्नलाई,’ चन्द्रमानकी पत्नी राममायाले भनिन् ।

गोरखा आएकाबेला गृहमन्त्री श्रेष्ठलाई भेटेर राममायाले आफ्नो देवता भएकाले ढुंगा आफूलाई नै फिर्ता पाउनुपर्ने माग गरिन् ।

‘यो ढुंगाको प्रकृतिको अनुसन्धान गर्नुपर्‍यो हामीले । त्यसपछाडि एउटा विवेकपूर्ण निर्णय गर्नुपर्छ हामीले त्यो कहाँ रहने भनेर,’ गृहमन्त्री श्रेष्ठको भनाइ छ ।

स्थानीय सरकारले अपनत्व लिने गरी ढुंगासँग सम्बन्धित परिवार र प्रहरीको उपस्थितिमा यसको थप परीक्षण गराउन प्रशासनले छलफल सुरु गरेको छ । केही धार्मिक संघ–संस्थाका प्रतिनिधिहरूले यो ढुंगा इतिहाससँग सम्बन्धित पुरातात्त्विक र दैवी शक्तिको वस्तु हुन सक्ने भन्दै सार्वजनिक सम्पत्तिका रूपमा संरक्षण गरेर गोरखामै राख्नुपर्ने माग गरेका छन् ।

    सम्बन्धित समाचार...