२१ बैशाख २०८१, शुक्रबार

भारतले गण्डक नहरमा सम्झौता अनुसार दिएन पानी

gandak nahar

खडेरीले सताएको यो बर्ष भारतले झन गण्डक नहरमा सम्झौता अनुसार पानी नछोड्दा मध्य तराईको पर्सा, बारा र रौतहटका किसान प्रताडित भएका छन् । आकाशे पानी समेत नपरेको यो बर्षात्मा गण्डक नहरमा समेत भारतले सम्झौता अनुसार पानी नछोड्दा मध्य तराईका किसान प्रताडित भएका हुन् ।

सम्झौता अनुसार निर्धारित समयभन्दा दुई महिना ढिलो गरी भारतले बल्ल नहरमा पानी छोडे पनि त्यो साढे ४ सय क्यूसेक जति मात्र पानी आउने गरेको खुलेको छ । भारतसँगको सम्झौतामा उसले गण्डक नहरमा साढे ८ सय क्यूसेक पानी छोड्ने उल्लेख छ । तर उसले चालु सिजनमा जम्मा आधा जति मात्र पानी छोडेको गण्डक नरहेको नेपाल तर्फको जिम्मेवार निकाय नारायणी सिंचाई व्यवस्थापन कार्यालय वीरगन्जले जनाएको छ ।

बर्षात्को धानबालीका लागि बैशाख २७ गतेबाट कार्तिक ८ (मे १० तारेखदेखि अक्टुवर २५ सम्म) र गहूँ बालीको लागि पुस १० गतेबाट चैत ११ गतेसम्म गण्डक नहरको पानी छोड्ने भारतसँग सम्झौता भएको जनाइएको छ । तर पनि उसले असार १५ गते मात्र पानी छोड्ने गरेको नारायणी सिंचाइ व्यवस्थापन कार्यालयले नै जनाएको छ । यो बर्ष पनि गएको असार १५ गते नै भारतले पानी दिन थालेको नारायणी सिंचाई व्यवस्थापन कार्यालय वीरगन्जका इन्जिनियर तथा सूचना अधिकारी सुरेश प्रसाद साहले बताए । झण्डै ५० बर्ष पुरानो नहरको कारण आफ्नो तर्फ नहरको मर्मत कार्य गर्नु परेको भन्दै भारतले एक–डेड दशक अगाडीबाट ढिलो गरी अर्थात असार १५ मा मात्र पानी छोड्न थालेको उनको भनाइ छ ।

मध्य तराईमा अझै मुल फुट्ने गरी आकाशे पानी पनि नआएको यो बर्ष पर्सा, बारा र रौतहट तीन जिल्लाको साढे ३७ हजार हेक्टर जग्गा सिञ्चित गर्ने गण्डक नहरमा सोमबार ४ सय ६६ क्यूसेक मात्र पानी आइरहेको नारयाणी सिंचाई व्यवस्थापन कार्यालय वीरगन्जका ईन्जिनियर तथा सूचना अधिकारी साहले बताए । सोेमबारको रेकड अनुसार ४ सय ६६ क्यूसेक मात्र पानी छ उनले भने ।

खडेरीले सताएका पर्सा, बारा र रौतहटका किसान हरेक दिन जसो धान रोप्ने पानी नै नभएको भन्दै पानी माग्दै नारायणी सिंचाई व्यवस्थापन कार्यालय वीरगन्जमा पनि आउने गरेको त्यहाँका कर्मचारीले बताए । किसानको माग अन्यथा नभएको ती कर्मचारीको भनाइ छ । हप्तामा चार दिन बारा र रौतहट तथा तीन दिन पर्सामा पालो गरेर पानी वितरण गर्दा पनि किसानको माग अनुसार पानी पु¥याउन नसकिएको नारायणी सिंचाई व्यवस्थापन कार्यालयले जनाएको छ । गण्डक नहरबाट तीन जिल्लामा गरी ३७ हजार ४ सय हेक्टर जग्गा सिञ्चित गर्ने लक्ष्य नेपाल तर्फको छ । तर वर्षेनि कुनै न कुनै समस्या देखाउँदै भारतले सम्झौता अनुरुपको ८ सय ५० क्युसेक पानी छोड्ने गरेको छैन ।

विगतका बर्ष यो अवधिसम्म ७५ प्रतिशत बढि खेतमा धान रोपाईं सकिने गरेको मध्य तराईमा यो बर्ष बाराको ११ नम्बर व्लकसम्म मात्र पानी पु¥याउन सकिएको नारायणी सिंचाइका सूचना अधिकारी साहले राजधानीसँग बताए । अहिले तीनवटै जिल्लामा गरी ६० प्रतिशत जति मात्र धान रोपाई भएको स्थानीय कृषि ज्ञान केन्द्रहरुले जनाए । राजधानी दैनिकबाट

    सम्बन्धित समाचार...