२७ बैशाख २०८१, बिहीबार

आज चार खेल महिला विश्वकपमा: अमेरिकाले भियतनाम र इंग्ल्यान्डले हेइटीसँग खेल्दै

nba canada

उपाधि दावेदार इंग्ल्यान्डले फिफा महिला विश्वकपको आफ्नो पहिलो खेलमा आज हेइटीसँग प्रतिस्पर्धा गर्दैछ ।

अस्ट्रेलियाको ब्रिसबेनमा हुने समूह ‘डी’ को यो खेल दिउँसो सवा तीन बजे सुरु हुनेछ । युरोकपको साविक विजेता इंग्ल्यान्डकी कप्तान मिली ब्राइट चोटमुक्त भएको प्रशिक्षक सरिना भिगमनले जानकारी दिएकी छन् । घुँडाको शल्यक्रियापछि ब्राइटले गत मार्च यता प्रतिस्धर्पात्मक खेलमा सहभागिता जनाएकी छैनन् । तर उनी हेइटीविरुद्ध भने उपलब्ध हुने छिन् । योजना अनुसार नै ब्राइटले पुनरागमन गरेको प्रशिक्षक भिगमनको भनाइ छ ।

ब्राइटले आदिवासी, सिमान्तकृत र लैगिंक समानतालाई प्रतिनिधित्व गर्ने आर्म ब्यान्ड लगाउने बताएकी छन् । हेइटी र इंग्ल्यान्डले यसअघि कुनैपनि प्रतियोगितामा एक अर्काको सामना गरेका छैनन् । हेइटी पहिलो पटक विश्वकपको फाइनल चरणका लागि छनोट भएको हो ।

डेब्यु खेलमा युरो च्याम्पियनविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा हेइटी रहेको छ । यसै समूहको अर्को खेलमा डेनमार्कले चीनसँग खेल्नेछ । अस्ट्रेलियाको पर्थमा हुने यो खेल साँझ पौने ६ बजे सुरु हुनेछ ।

चीनले एडिलेडमा रहेर विश्वकपको तयारी गरेको थियो । उच्च फर्ममा रहेको चीनले गत वर्ष एसिया कप जितेको थियो । बलियो टोलीसँगै समूहमा रहेको चीनले चुनौतीका लागि तयार रहेको बताएको छ । डेनमार्क १६ वर्षपछि विश्वकपमा फर्किएको हो । पछिल्लो पटक उसले सन् २००७ को विश्वकप खेलेको थियो ।

समूह सी मा रहेका जापान र जाम्बिया पनि आजै भिड्नेछन् । यी दुईको खेल पौने एक बजे न्युजिल्यान्डको ह्यामिल्टनमा हुनेछ । जापनका प्रशिक्षक फुतोसी इकेडाले विश्वकपमा अगाडि यात्रा तय गर्ने हो भने पहिलो खेलमा तीन अंक आवश्यक रहेको प्रतिक्रिया दिएका छन् । डेब्यु गर्न लागेको जाम्बियाले विश्वकप अघिको मैत्रीपूर्ण खेलमा जर्मनीलाई पराजित गरेको थियो ।

यस्तै साविक विजेता अमेरिकाले भियतनामसँग खेल्दै फिफा महिला विश्वकपको उपाधि रक्षाको यात्रा सुरु गर्दैछ ।

समूह ई मा रहेको अमेरिका र भियतनाम बीचको खेल नेपाली समयअनुसार आज बिहान पौने ७ बजे न्युजिल्यान्डको इडेन पार्कमा हुनेछ । महिला विश्वकपको सर्वाधिक सफल अमेरिकाले भियतनामसँग पहिलो पटक खेल्न लागेको हो ।

चार पटकको च्याम्पियन अमेरिका विश्वकपका पछिल्ला १७ खेलयता अपराजित छ । अमेरिकाका मुख्य प्रशिक्षक भ्लात्को एन्डोनोभस्कीको पनि यो विश्वकपमा वास्तविक परीक्षण हुनेछ । जिल एलिसको नेतृत्वमा अमेरिकाले सन् २०१५ र २०१९ मा उपाधि जितेको थियो । भ्लात्कोलाई सोही सफलता दोहोर्याउनु पर्ने चुनौती छ ।

अमेरिकाको २३ सदस्यीय टिममध्ये १४ जनाले पहिलो पटक विश्वकप खेल्दैछन् । नौ जना चार वर्षअघि विश्वकप जित्दाका सदस्य हुन् । जसमा स्टार खेलाडी एलेक्स मोर्गन, मेगन रपिनो लगायतका खेलाडी छन् ।

    सम्बन्धित समाचार...