४ जेष्ठ २०८१, शुक्रबार

गणितमा गुरु नै कमजोर भएपछि…

math teacher

विद्यालय तहका विद्यार्थी गणित विषयमा सबैभन्दा बढी कमजोर देखिने गरेका छन् । देशभर एक त विषयगत शिक्षकको अभाव, त्यसमाथि भएका शिक्षक पनि कमजोर हुँदा धेरै विद्यार्थी गणितमा फेल हुने गरेका छन् । गणितका विषयविज्ञहरुले भने विद्यालय तहदेखि नै प्रयोगात्मक अभ्याससहितको शिक्षण सिकार्इमा जोड दिनसके मात्र सिकार्इ उपलव्ध वृद्धि हुने सुझाव दिएका छन् ।

गणित हाम्रो दैनिक जीवनसँग जोडिन्छ । तर, प्रारम्भिक बाल विकास केन्द्रदेखि नै पढाई हुँदै आएको यही विषयमा माध्यमिक शिक्षा परीक्षा एसईईका विद्यार्थी सबैभन्दा बढी फेल हुने गरेका छन् । २०७९ को एसईई दिएका देशभरका ४ लाख ८५ हजार विद्यार्थीमध्ये डी र ई ग्रेड ल्याउनेको संख्या २ लाख ४ हजार छ । यो सबै गणित विषयको ग्रेड हो, जुन कुल परीक्षार्थी संख्याको ४२ प्रतिशत हो । विषयगत शिक्षकको अभाव र भएका शिक्षकले पनि गणित विषय राम्ररी पढाउन नसक्दा धेरै विद्यार्थी कमजोर रहेको हिलटाउन माध्यामिक विद्यालय कीर्तिपुरका प्रधानाध्यापक राजन तण्डुकारको स्वीकारोक्ति छ ।

सम्भवतः यही कारणले उच्च शिक्षामा गणित विषय रोज्ने विद्यार्थी निकै थोरै हुने गरेका छन् । त्यसमाथि भविष्यका शिक्षक बन्न पढ्ने शिक्षाशास्त्र संकायमा कमसल विद्यार्थी आउनुले पनि विद्यालय तहको सिकाइ कमजोर हुने गरेको छ । यस्तै, शिक्षक सेवा आयोगले लिने परीक्षामा पनि शिक्षा विषय लिएर पढ्नेहरु धेरै फेल हुने गरेका छन् । शिक्षकहरुले पनि गणित विषयलार्इ व्यवहारिक अभ्याससहितको शिक्षण सिकाइमा जोड दिनसकेका छैनन् । नयाँ पाठ्यक्रम परिमार्जन भैसक्दा समेत शिक्षकलाई समयानुकूल तालिमको व्यवस्था हुन सकेको छैन ।

हरेक विद्यालयमा गणित प्रयोगशाला स्थापना गरि शिक्षण सिकार्इ गर्नसके गणितमा विद्यार्थीको सिकाई उपलव्धि वृद्धि हुने पाठ्यक्रम विकास केन्द्रको भनाइ छ । जीवनमा अनिवार्य रुपमा सिक्नु पर्ने विषयमध्ये एक हो गणित । तल्लो तहदेखि नै गणित विषयलार्इ व्यवहारिक रुपमा शिक्षा दिन सके सिकाइ उपलब्धि पनि बढ्ने विज्ञको बुझाइ छ ।

    सम्बन्धित समाचार...