१७ बैशाख २०८१, सोमबार

कोसी प्रदेश मुख्यमन्त्री थापाले पाउलान् विश्वासको मत ?

uddhav

कोसी प्रदेश सरकारको पाँचौं मुख्यमन्त्रीका रूपमा उद्धव थापा नियुक्त भएका छन् । बिहीबार थापालाई प्रदेश प्रमुख परशुराम खापुुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (२) अनुसार बिहीबार साँझ नियुक्त गरेका हुन् ।

मुख्यमन्त्रीमा नियुक्त भएपछि नवनियुक्त मुख्यमन्त्री थापाले आफूले ३० दिनभित्र विश्वासको मत लिने बताएका छन् । ‘यो गलत छ या ठीक छ भन्ने कुरा संविधानले नै यस विषयमा प्रस्ट पार्छ,’ सभामुखले पनि सरकार बनाउन हस्ताक्षर गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै थापाले भने, ‘तटस्थ सदस्यको नाताले उहाँले समर्थन गर्नुभएको हो । सभामुखलाई हामीले विवादमा पारेका छैनौं । उहाँ सभामुख मात्रै होइन । प्रदेशसभाको सदस्य पनि हो । ९३ जनामै पर्नुहुन्छ ।’

उनले यो सरकारले विकाससँगै आर्थिक उन्नतिको क्षेत्रमा काम गर्ने बताए । ‘यो सरकारको प्राथमिकता समग्र प्रदेशको विकास र समृद्वि, आर्थिक उन्नतिको कुरा नै हुनेछन् । स्वास्थ्य, शिक्षा प्राथमिकतामा रहनेछ । पहिचानको मुद्दालाई पनि वार्ताको माध्यमाबाट वार्ता समिति गठन गरेर अधिकतम सम्बोधन गर्ने प्रयास गर्छौं ।’

थापा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपासहितको गठबन्धनबाट मुख्यमन्त्री बनेका हुन् । कांग्रेसका २९, माओवादीका १३ (सभामुख बाबुराम गौतमसहित), नेकपा एकीकृत समाजवादीका ४ र जसपाको १ सिटसहित ४७ सांसदको समर्थनमा थापा मुख्यमन्त्री बनेका हुन् ।

९३ सांसद रहेको कोसी प्रदेशसभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ । जसमध्ये सभामुखलाई पनि जोडेर कांग्रेसबाट थापाले मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए ।

यसअघि नेकपा एमालेको नेतृत्वमा मुख्यमन्त्री बनेका हिक्मत कार्कीले अघिल्लो बुधबार विश्वासको मत प्राप्त नगरेपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको थियो । कार्कीको नेतृत्वमा यसअघि माओवादी, राप्रपा र जसपाको संयुक्त सरकार बनेको थियो । उनैको नेतृत्वमा नामविहीन बनेको प्रदेश १ को नाम कोसी राखिएपछि पहिचानवादी आन्दोलित बनेका थिए ।

पहिचानको मुद्दा उठाएको नेकपा माओवादी केन्द्र र जसपाले चौतर्फी दबाबपछि सरकारबाट बाहिरिने निर्णय गरेका थिए । सोही कारण कार्कीले विश्वासको मत माग्नुपर्ने बाध्यता थियो । कार्कीले विश्वासको मत नपाएपछि ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । राजधानी दैनिकबाट

    सम्बन्धित समाचार...