२६ बैशाख २०८१, बुधबार

नेपालको विश्वकप सपना त्यति पर नहोला कि ?

358600127 668289551994095 4206125868741013531 n

जिम्बाब्वेमा सिनियर नेपाली क्रिकेट टिम आईसीसी विश्वकप छनोटमा खराब प्रदर्शन गर्दै सुपर सिक्समा पुग्न वञ्चित हुँदै गर्दा उमेर समूहको क्रिकेटमा भने मलेसियामा लगातार जित निकाल्दै थियो । मंगलबार सिनियर टिमले छनोटको प्लेअफमा आयरल्यान्डलाई नतिजा सुम्पिँदा अन्डर सिक्सटिन टिमले घरेलु टोली मलेसियालाई २ सय २१ रनको फराकिलो अन्तरले हराउँदै एसीसी इस्ट जोन कपको उपाधि जित्यो । उपाधिमा ह्याट्रिक गर्न सफल नेपालको प्रदर्शन उत्कृष्ट रहृयो ।

नेपालले यसअघि २०१७ र २०१९ मा एसीसी अन्डर सिक्सटिन इस्टर्न रिजन प्रतियोगितामा उपाधि जितेको थियो । चार वर्षपछि १६ वर्षमुनिको टिमले उपाधिमा ह्याट्रिक गरेको हो । घरेलु टोली मलेसियालाई ३१ रनमै अलआउट गर्दै नेपाल २ सय २१ रनको फराकिलो अन्तरले विजयी भयो । पहिलो खेलमा थाइल्यान्डलाई २ सय २५ रनले हराएलगत्तै सेमिफाइनल पुगेको नेपालले समूह चरणको दोस्रो खेलमा मलेसियालाई ८४ रनले हरायो भने सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले पराजित गर्यो । प्रतियोगिताका सबै खेलमा नेपालको प्रदर्शन उत्कृष्ट रह्यो ।

नरेन भट्टले ६ वर्षपछि उमेर समूहको क्रिकेटमा शतकको खडेरी तोडे । उनले ८९ बलमा १० चौका र २ छक्का हिर्काउँदै १ सय १२ रनको शतकीय इनिङ्स खेलेका थिए । यसअघि २०१७ मा यही प्रतियोगितामा रित गौतमले म्यानमारविरुद्ध शतकीय इनिङ्स खेलेका थिए । रितकै कप्तानीमा नेपालले उपाधि जितेको थियो । नरेन, रितपछि उमेर समूहको क्रिकेटमा शतक हान्ने खेलाडी हुन् ।

सिनियर टिम बलियो बन्ने आधार नै उमेर समूहको क्रिकेट हो । गत फागुनमा अन्डर नाइन्टिन क्रिकेट टिमले यूएईलाई ७ रनले हराउादै २०२४ मा श्रीलंकामा हुने विश्वकपमा स्थान बनाएको थियो । इस्ट जोनकपमा च्याम्पियन बनेपछि प्रशिक्षकहरुले टिममा धेरै सुधारको खाँचो समेत औंल्याएका छन् । तर, नेपाले एसोसिएट राष्ट्रभन्दा माथिल्लो स्तरको प्रदर्शन गरेको उनीहरुको प्रतिक्रिया छ । त्यसैले उमेर समूहको क्रिकेटलाई पनि क्यानले थप प्राथमिकतमा राख्दै अघि बढ्ने हो भने नेपालको विश्वकप सपना त्यति पर नहोला कि ?

    सम्बन्धित समाचार...