२६ बैशाख २०८१, बुधबार

विश्वकपको मुखमा बंगलादेशका कप्तानले सन्यास लिए

Tamim Iqbal min

बंगलादेशका ओडीआई कप्तान तमिम इकबालले सन्यास घोषणा गरेका छन् । इकबालले विश्वकपको तीन महिनाअघि आज अचानक अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।

बंगलादेश क्रिकेट बोर्डले उनको सन्यासप्रति आश्चर्य प्रकट गरेको छ । भारतमा २०२३ को ५ अक्टोबरदेखि हुने विश्वकपअघि तमिमले सन्यास लिएपछि बंगलादेशलाई झट्का लागेको छ । अफगानिस्तानसँगको तीन खेलको ओडीआई सिरिजको पहिलो खेलमा हिजो बंगलादेश १७ रनले पराजित भएको थियो ।

बंगलादेशले अफगानिस्तानसँग कमजोर ब्याटिङ प्रदर्शन गर्दै १ सय ६९ रन मात्र बनायो । पराजय लगत्तै आज उनले अचानक पत्रकार सम्मेलन गरी हिजोको खेल आफ्ना लागि अन्तिम रहेको बताएका हुन् । प्रत्रकार सम्मेलनमा निकै भावुक देखिएका उनी अन्तर्राष्ट्रिय क्रिकेट करियर अन्त्य गरेको घोषणा गर्दा निकैबेर रोएका थिए ।

पिताको सपना पूरा गर्ने क्रममा बंगलादेशका लागि सधैं उत्कृष्ट प्रदर्शनको प्रयास गरेको उनको प्रतिक्रिया थियो । उनले क्रिकेट संघ र राष्ट्रिय टिमका सबै खेलाडीलाई धन्यवाद ज्ञापन गरे । इकवालले २००७ मा जिम्बाब्बेसँग ओडीआई डेब्यू गरेका थिए । ३४ वर्षीय ओपनिङ ब्याटर तमिम ओडीआईमा बंगलादेशका लागि सर्वाधिक रन हान्ने खेलाडी हुन् ।

तमिमले बंगलादेशका लागि २ सय ३९ खेलमा ८ हजार ३ सय १३ रन बनाएका थिए । यसमा १४ शतक र ५६ अर्धशतक सामेल छ । उनले टी-ट्वान्टी क्रिकेटबाट भने यसअघि नै सन्यास घोषणा गरेका थिए ।

    सम्बन्धित समाचार...