२५ बैशाख २०८१, मंगलवार

कोशीको मुख्यमन्त्रीमा नियुक्त भए कांग्रेसका उद्धव थापा

Uddhab Thapa and Parshuram Khapung

कोशी प्रदेशका सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले बिहीबार थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । गठबन्धन दलले संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्थाबमोजिम सरकार गठनका लागि थापाको दाबी पेस गरेका थिए । सोही दाबीअनुसार प्रदेश प्रमुख खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

२०१४ मंसिर १५ गते जन्मिएका थापा झापाको अर्जुनधारा नगरपालिका ४ का स्थायी बासिन्दा हुन् । थापाले ०३२ सालमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको सदस्यता लिएर राजनीतिमा सुरु गरेका थिए । ०४७ सालमा अर्जुनधारा गाउँ समिति सचिव बनेका थापा २०४८ को आठौं जिल्ला अधिशेनबाट पार्टीको २ नम्बर क्षेत्रीय सभापति निर्वाचित भए ।

१०औं अधिवेशनसम्म आइपुग्दा जिल्ला सचिव, ११औं अधिवेशनबाट जिल्ला उपसभापति र १२औं अधिवशेनपछि जिल्ला सभापति बनेका थिए । व्यवस्थापन संकायमा स्नातकसम्मको अध्ययन गरेका थापाले जिल्ला विकास समिति झापाको संयन्त्र सदस्य भएर तीन वर्ष काम गरेको अनुभव बटुलेका छन् ।

९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीको एक गरी बहुमत ४७ प्रदेश सांसदको समर्थन रहेको भन्दै सरकार गठनका लागि दाबी पेस गरेका थिए ।

गठबन्धन दलका नेताहरुले आ-आफ्ना दलका प्रदेश सांसदको संख्या उल्लेख गरी हस्ताक्षर गरेर सरकार गठनका लागि दाबी पेस गरेका हुन् । प्रदेशसभामा एमालेका उपसभामुखसहित ४० र राप्रपाका ६ जना प्रदेश सांसद छन् । कांग्रेस नेता थापाले सानो आकारको मन्त्रीमण्डल गठन गरेर शपथ ग्रहण गर्ने र त्यसपछि विश्वासको मतका लागि थप प्रदेश सांसदको समर्थन जुटाउने प्रयास जारी राख्ने बताए ।

को हुन् कोशीका नवनियुक्त मुख्यमन्त्री थापा ?

विसं २०३२ ताका काठमाडौँको शङ्करदेव क्याम्पसबाट नेपाल विद्यार्थी सङ्घको एकाइबाट राजनीतिक जीवन सुरु गरेका थापा नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा कोशी प्रदेशको सभापति पदमा निर्वाचित भएका थिए।

विसं २०३६ को जनमत सङ्ग्रहमा निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध बहुदलीय व्यवस्था स्थापनाका लागि प्रचार अभियानमा सक्रिय थापा त्यसताका बिपी कोइरालाको सुरक्षा दस्तामा समेत रहेका थिए।

अर्जुनधारा नगरपालिका–७ निवासी बुबा हेमबहादुर थापा र आमा डम्बरकुमारी थापाको एक्लो छोराका रूपमा विसं २०१४ मङ्सिर १५ गते जन्मिएका नवनियुक्त मुख्यमन्त्री थापाले २०४६ सालमा पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

विद्यार्थी जीवनबाट पार्टीको सङ्गठनतर्फ प्रवेश गर्ने क्रममा उनले नेपाली काङ्ग्रेस अर्जुनधारा गाउँ विकास समितिको सचिव/सभापतिको एक–एक कार्यकाल जिम्मेवारी सम्हाले। त्यसपछि झापा निर्वाचन क्षेत्र नं २ को क्षेत्रीय सभापति, जिल्ला सचिव, जिल्ला उपसभापति र दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी कुशलतापूर्वक सम्हालेका थापाले दुईपटक प्रतिनिधिसभा सदस्यको टिकट पाए। हरेक चुनावमा नेपाली कांग्रेसको भारी मत बढाउन सफल रहे पनि जितको परिणाम भने हात पर्न सकेन।

नेपाली कांग्रेसको १३औँ महाधिवेशनपछि नेपाली कांग्रेस झापाको राजनीतिमा पूर्वको अवधारणा अघि सारेर जिल्लाव्यापी राजनीतिक प्रशिक्षण अभियान सञ्चालन गर्ने कार्यक्रमका परिकल्पनाकार थापा एक विकासवादी, व्यावहारिक राजनीतिक योजनाकार पनि हुन्।

पाँच ‘व’ को नीतिअन्तर्गत विचारमा कांग्रेस, व्यवहारमा कांग्रेस, व्यवसायमा कांगे्रस, विकासमा कांग्रेस र विपद्मा कांग्रेसको नीतिलाई साथसाथै लगिएन भने राजनीति जटिल र कठिन हुने ठम्याइसहित थापाकै अगुवाइमा जिल्लाव्यापी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएका थिए ।

साथमा नेपाली कांग्रेसको सिद्धान्त, नीति, विचार, कार्यक्रम, इतिहास र विधानका विषयमा समेत थापाकै अगुवाइमा प्रशिक्षण कार्यक्रम चलाइए। विसं २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले शाही ‘कू’मार्फत सम्पूर्ण सत्ता हातमा लिएपछि प्रजातन्त्र अपहरण गर्ने राजाको कार्यको कडारूपमा विरोध जनाउँदै आन्दोलन सञ्चालन गर्दा उनलाई तत्कालीन शाही नेपाली सेनाको मातहतमा रहेको युनिफाइड कमाण्डले पक्राउ गरेर झापा चारआलीस्थित सैनिक ब्यारेकको बङ्करमा कठोर र अमानवीय क्रूर यातना दिएर सैन्य हिरासतमा राखेको थियो ।

वाणिज्य शास्त्रमा स्नातक गरेका थापाले एक स्पष्टवादी, निडर, कार्यकर्ताको पीरमर्का बुझ्न र सहयोग गर्न सक्ने, कार्यकर्तालाई माया र न्याय गर्न सक्ने विवेकशील नेताको छवि निर्माण गरेका छन्।

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला कम्युनिष्टको लालकिल्लामा कार्यकर्ताको सुरक्षा गर्दै पार्टी सङ्गठनलाई विस्तार गर्न थापाले कठोर मेहनत गरेका छन्।

प्रजातान्त्रिक आन्दोलन र सङ्गठन विस्तारका क्रममा सङ्घर्षको मैदानबाट खारिएर आफूलाई राजनीतिमा अब्बल साबित गरेका थापा राजनीतिलाई राष्ट्रहित र जनताको सेवामा समर्पित गर्नुपर्छ भन्ने मान्यतामा अडिग रहँदै आएका छन्।

कोशी प्रदेशसभाको दोस्रो निर्वाचनमा नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि उनी प्रदेशसभाको छैठौँ बैठकसम्म र तेस्रो अधिवेशनको पहिलो बैठकसम्म आफ्ना धारणा, विचार र सिद्धान्तमा अडिग रही अत्यन्त प्रभावशाली ढङ्गले सदनमा प्रस्तुत भएका थिए।

    सम्बन्धित समाचार...