२१ बैशाख २०८१, शुक्रबार

राजस्व उठाउन र पुँजीगत खर्च गर्नमा सरकार असफल

econmy ministry

सरकार चालू आर्थिक वर्षमा लक्ष्यअनुरूप ७० प्रतिशत राजस्व उठाउन असफल हुने भएको छ । चालू आवको कर उठाउने समय १२ दिन मात्र बाँकी हुँदा लक्ष्यको ६१ प्रतिशत मात्र राजस्व उठेकाले असफल हुने देखिएको हो ।

चालू आवमा राजस्व संकलनको लक्ष्य १४ खर्ब ३ अर्ब १४ करोड राखिएकामा १८ असारसम्म ८ खर्ब ६५ अर्ब ६८ करोड २९ लाख मात्र उठाउन सरकार सफल भएको छ । चालू आवको लक्ष्यअनुसार राजस्व संकलन गर्न अब बाँकी अवधिमा साढे ५ खर्ब अर्थात् दिनको ५० अर्ब उठाउनुपर्ने हुन्छ ।

सरकारले गत वर्ष आयातमा कडाइ गरेकाले र कसिलो मौद्रिक नीति अपनाइएकाले अपेक्षित राजस्व उठ्न नसकेको बताइन्छ । चालू आवमा आयात र निर्यात दुवै घटेकाले र बजारमा मन्दी छाएकाले राजस्व नउठेको भनाइ विज्ञहरूको छ ।

भन्सारतर्फ राजस्व असुली लक्ष्य ६ खर्ब ९ अर्ब ५४ करोड लक्ष्य रहेकामा जेठ मसान्तसम्ममा ३ खर्ब ४८ अर्ब १८ करोड मात्र राजस्व उठेको तथ्यांक रहेको छ । आन्तरिक राजस्व विभागतर्फ ५ खर्ब २४ अर्ब ३४ करोडको राजस्व संकलन लक्ष्य निर्धारण गरिएकामा सो अवधिसम्म ४ खर्ब १० अर्ब ८२ करोड मात्र उठेको छ ।

अर्थ मन्त्रालयका अनुसार कर राजस्वबाट १२ खर्ब ९५ अर्बको लक्ष्य राखेकामा हालसम्ममा ७ खर्ब ८५ अर्ब अर्थात् लक्ष्यको ६० प्रतिशत मात्र उठेको छ । यसैगरी, गैरकर संकलनतर्फ भने ७९ अर्ब ८२ करोड राजस्व संकलन भएको छ ।

सरकारले वैदेशिक अनुदान ५५ अर्ब ४५ करोड ल्याउने लक्ष्य राखेकामा हालसम्ममा ८ प्रतिशत मात्र ल्याउन सकेको छ । सरकारले हालसम्ममा ४ अर्ब ८० करोड मात्र अनुदान प्राप्त गरेको छ । राजस्व नउठेको देखेपछि नेपाली कांग्रेसका सांसद एवं डलर अर्बपति विनोदकुमार चौधरीले सरकारको राजस्व संकलनको अवस्था डरलाग्दो रहेको बताए ।

सरकारले नै मुलुकको अर्थतन्त्र चलायमान बनाउन नसकेको स्वीकार गरेको उल्लेख गर्दै उनले अर्थतन्त्र चलायमान बनाउनेतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताए । राजधानी दैनिकबाट

    सम्बन्धित समाचार...