२५ बैशाख २०८१, मंगलवार

लुम्बिनी प्रदेश सभाको बैठक सञ्चालनमा प्रमुख प्रतिपक्ष दल र सरकारबीच सहमति

lumbini

लुम्बिनी प्रदेशमा बजेटको विषयमा असन्तुष्टि जनाउँदै लगातार सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सरकारबीच सहमति भएको छ ।

गएराति भएको वार्तामा विपक्षी दलले उठाएका विषय मुख्यमन्त्री डिल्ली चौधरीले सदनमा सम्बोधन गरेर बुधबारदेखि सदन सञ्चालन गर्ने सहमति भएको एमाले प्रमुख सचेतक तुलसी चौधरीले जानकारी दिए ।

मंगलबार सदन बहिस्कार गरेर बाहिरिएको एमालेसँग सरकारका तर्फबाट मुख्यमन्त्री चौधरी, सभामुख तुलाराम घर्तीले वार्ता गरेर सहमति गरेका हुन् । वार्तामा विपक्षी दलका नेता लिला गिरी, उपनेता चेतनारायण आचार्य, प्रमुख सचेतक तुलसी चौधरी बसेका थिए ।

असार १ गते आएको बजेटका विषयमा छलफल गर्न १३ गतेदेखि बसेको सदन प्रमुख विपक्षी दल एमालेले लगातार अवरोध गर्दै हिजो (मंगलबार)बहिस्कार नै गरेको थियो ।

प्रमुख प्रतिपक्ष दल एमालेले बहिस्कार गरिरँहदा पनि बैठक चलाएका सभामुख घर्तीले अर्को बैठक सूचनामार्फत बोलाइने भन्दै पौने ७ बजे सकाएका थिए ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको १७ औं बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको जानकारी दिएका छन् ।

    सम्बन्धित समाचार...