२१ बैशाख २०८१, शुक्रबार

सत्ता बदल्ने एमाले रुचि

kp oli
फाइल फोटो

सरकारले ल्याएको बजेटमा सत्तारूढ दलका नेताहरूकै विरोध रहेको अवस्थामा प्रमुख प्रतिपक्षी एमालेले सरकारको विकल्प खोज्ने प्रयास थालेको छ।

संसद्मा प्रमुख प्रतिपक्षी दलका रूपमा रहेको एमालेले वर्तमान सरकारकै घटकमध्येबाट त्यसको विकल्प हुने गरी प्रयास थालेको हो। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यसको पुष्टि गर्दै शुक्रबार सरकारको विकल्प खोज्ने क्रममा एमाले मूकदर्शक भएर नबस्ने बताए।

सरकारको विकल्प खोज्नेबारे एमालेको औपचारिक धारणा बाहिर नआएको बेला गौतमले सरकारले कुनै पनि राम्रो काम गर्न नसकेको बताउँदै विकल्पबारे सोच्न सकिने स्पष्ट पारे। ‘सरकार नालायक, जवाफदेहिताविहीन छ, जनताले सरकार छ भन्ने महसुस नगरेपछि विकल्पमा जान सकिन्छ भन्ने छलफल स्वाभाविक छ,’ उनले भने, ‘सत्तारूढभित्र बजेट असन्तुष्टि छ, विकल्पमा जानुपर्ने जनतामा प्रश्न उठेको छ,’ उनले भने।

उनले नयाँ सरकार बनाउने मुख्य एजेन्डा एमालेको नभए पनि सरकार परिवर्तन हुने सम्भावनालाई नकार्न नसकिने बताए। ‘मिसन २०८४ मा ५१ प्लस ल्याएर सरकार बनाउने हो तर सरकार नचल्ने स्थितिमा एमाले टुलुटुलु हेरेर बस्दैन। मोर्चाको बहुआयामिक प्रभाव छ। कांग्रेसलाई थ्रेट गर्न यो मोर्चा बनेको हो। बाबुराम छुट्ने कुरामा पनि अन्तरविरोध छ। कांग्रेसभित्र विभिन्न विकल्पमा छलफल भएपछि मोर्चा बनाइएको छ,’ गौतमले भने, ‘सरकारभित्र खटपट भएकाले मोर्चा बनेको अवस्थामा विकल्पबारे छलफल हुँदा एमाले मौन बस्दैन, किनभने एमाले मुलुकको जिम्मेवार पार्टी हो।’

बजेट पास गर्ने अन्तिम समय आइसक्दा र अर्थ मन्त्रालयले बजेट कार्यान्वयनका लागि तयारी थाल्दा सत्ता गठबन्धन मात्र होइन, कांग्रेसकै कतिपय सांसदहरूले बजेटको विरोध गरिरहेको अवस्थामा एमालेले पनि सरकारलाई अप्ठेरो पार्ने गरी धारणा सार्वजनिक गरेको छ।

अर्थमन्त्रीले गोरखा, डडेलधुरा, नुवाकोटजस्ता केही सीमित जिल्लालाई मात्र बजेट र योजना पारेको भन्दै सांसदहरूले विरोध गरेका हुन्। यति हुँदा पनि अर्थमन्त्रीले बजेट कार्यक्रम परिवर्तन गर्ने विषयमा कुनै चासो देखाएका छैनन्। सरकारमा रहेको जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी (नेकपा एस), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले त खुलेरै बजेट संशोधन गर्नुपर्ने माग गरेका छन्। नागरिक दैनिकबाट

    सम्बन्धित समाचार...