२६ बैशाख २०८१, बुधबार

सत्ता गठबन्धनभित्रै किन बनाउनु परेको होला समाजवादी मोर्चा ?

355461792 962687545050661 645064977125436364 n.jpg

सत्तारुढ तीन दल र बाहिरको एक दल सम्मिलित समाजवादी मोर्चालाई प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक परिवर्तनविरुद्ध लाग्नेहरुका निम्ति युद्ध घोषणा भएको दाबी गरेका छन् ।

समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रममा दाहालले परिवर्तन विरोधीले टाउको उठाउन खोजेकाले मोर्चा बनाइएको दाबी गरेका हुन् । उनले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान बनाउन भूमिका खेल्ने सबैलाई हातेमालो गर्न आग्रहसमेत गरे ।

सरकारको नेतृत्व गरिरहेका नेकपा माओवादी केन्द्रसहित तीन दलले स‌ंविधान र संसदीय व्यवस्था नै नमान्ने घोषणा गरेका नेत्रविक्रम चन्दलाई समेत समेटेर समाजवादी मोर्चा किन बनाउनु परेको होला ?

संविधानको रक्षा गर्न भन्दै गठन गरिएको मोर्चामा संसदीय चुनाव नै बहिस्कार गर्दै आएको दल पनि अटाएको छ । यस्तो अवस्थामा आज तामझामका साथ घोषणा भएको समाजवादी मोर्चाको भविष्यमा नै विश्लेषकहरूले आशङ्का गरेका छन् ।

नेपालमा राजनीतिक दलहरूलाई राजनीति आफ्नो पकडमा राख्न जसरी पनि मिल्नु वा मोर्चा बनाएर आफ्नो शक्ति बढाउने प्रयास गर्नु नौलो होइन । अहिले पनि माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले समाजवादी मोर्चा गठन गरेका छन् । जसको राजनैतिक पृष्ठभूमि र उद्देश्य नै फरक किन नहोस् ।

२०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच मोर्चा बन्दी र एकता नै भयो । २०७९ सालको निर्वाचनमा पनि पाँच दलीय मोर्चा बन्यो । तर यी कुनै मोर्चा बन्दी टिकाउ भएनन् । अहिले प्रतिनिधिसभामा ३२ सिट रहेको माओवादी केन्द्रको अगुवाइमा चार दलीय मोर्चा बनेको छ ।

समाजवादको आधार निर्माण गर्न भन्दै गठन गरिएको मोर्चाको भित्री उद्देश्य सरकारमा रहेर शक्ति आर्जन गर्नु नै हो । त्यति मात्र होइन, संसद्मा ८८ सिट भएको कांग्रेस र ७९ सिट भएको एमालेलाई मोर्चाबिना सरकार गठन सम्भव छैन भन्ने सन्देश दिनु पनि हो । नेताहरूले नेपालमा देखिएको कम्युनिस्ट पार्टीप्रतिको रुझानलाई जोगाउन यो प्रयास गरेको भए पनि निरर्थक हुने बुझाइ विश्लेषकको छ ।

चार दलको मोर्चा बन्दीले कार्यकर्तामा केही उत्साह ल्याए पनि विचार, कार्यदिशा र व्यवहारमै अलमलिएका दलहरुबीचको मोर्चा बन्दी कर्मकाण्डमा मात्रै सीमित नहोला भन्न सकिन्न ।