१३ बैशाख २०८१, बिहीबार

कोरोना संक्रमित नुहाउन आउने भन्दै धारामा करेन्ट छोड्दा एक महिलाको ज्यान गयो

b

डोटी जिल्लाको आदर्श गाउँपालिका–७ नवाघरकी २६ वर्षीया तुलसी थापा बागको करेन्ट लागेर मृत्यु।

धारामा नुहाउने क्रममा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेमा आदर्श गाउँपालिका ७ नवाघरका मानबहादुर बाघकी २६ वर्षीया पत्नी तुलसी थापा बाघ रहेकी छिन्।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार शनिबार खानेपानी लिन धारामा गएको बेला करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो।

कोरोना प्रभावित व्यक्ति धारामा नुहाउन आउने भन्दै स्थानीय १९ वर्षीय सुर्ज किमाडीले पानीको ट्याङ्कीमा बिजुलीको तार हालेकोले तुलसीको करेन्ट लागेर ज्यान गएको बुझिएको छ।

सोही वडाका किमाडीले पानीट्याङ्कीमा करेन्ट प्रवाह गरेका कारण निज महिला थापा बागलाई करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए।

गाउँको सार्वजनिक धारामा भारतबाट आएका कोरोना सङ्क्रमितहरू पनि पानी भर्न आउन सक्ने भन्दै करेन्ट छोडेको किमाडीले स्वीकार गरेको स्थानीय गणेश विष्टले जानकारी दिए।

पानीट्याङ्कीमा करेन्ट प्रवाह गर्ने किमाडीलाई इलाका प्रहरी कार्यालय आदर्शबाट गएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए।

उनले भने, ‘ट्याङ्कीमा करेन्ट प्रवाह गर्ने किमाडीलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको छ, बाँकी उनको बयानपछि सबै कुरो खुल्ने छ।’

गाउँको सार्वजनिक धारामा भारतबाट रोजगारी गरी घर फर्किएका कोरोनाको संक्रमित भएका व्यक्तिले पनि पानी भर्न आउने गरेका कारण आफूले धारामा करेन्ट प्रवाह गरेको पक्राउ परेका किमाडीले प्रहरीसमक्ष बयान दिएको इलाका प्रहरी कार्यालय आदर्शले जनाएको छ।

करेन्ट लागेर मृत्यु भएकी निज महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल डोटी ल्याइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

गाउँको सार्वजनिक धारामा घरबाट बिजुलीको तार र ग्याबिन जालीको तार जोडेर धारामा लगाएपछि धारामा समेत करेन्ट प्रवाह भएको थियो।

मृतक महिला आफ्नै गाउँको विद्यालयमा बाल विकास सहयोगी हुन्। रासस