४ जेष्ठ २०८१, शुक्रबार

एमाले अध्यक्ष ओलीको प्रश्न: ‘किन चाहियो समाजवादी मोर्चा ? ‘लिभिङ टुगेदर’ चलेकै छ त ?’

kp oli
फाइल फोटो

नेकपा एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका पार्टीले समाजवादी मोर्चा बनाउन गरेको निर्णयको कटाक्ष गरेका छन् । शनिबार पार्टीको केन्द्रीय कार्यालयमा कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउँदै उनले समाजवादी मोर्चाबारे टिप्पणी गरे ।

ओलीले अब गठबन्धनले मात्रै नपुगेर समाजवादी मोर्चा बनाउने तयारी गरेको आरोप लगाए । नेकपा एमालसँग मुकाबिला गर्न र कांग्रेसलाई तर्साउन समाजवादी मोर्चा बनाउन लागिएको ओलीको तर्क छ । ‘समाजवादी मोर्चा बनाएर हुन्छ के किन बनाउने, तिनै चिनेका मान्छे हुन्, सँगै हिँडिरहेको हो, लिभिङ टुगेदर चलेकै थियो छ त’, उनले भने ।

अध्यक्ष ओलीले फरक उद्देश्य भएका तत्त्वहरू एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति निर्माण नहुने टिप्पणी पनि गरे । उनले सँगै काम गरेका नेताहरूलाई आफूले राम्रोसँग चिनेको भन्दै कुनै नयाँ कुरा नरहेको जिकिर गरे ।

नेकपा एमाले मिसन २०८४ को तयारीमा जुटेको र २०८४ मा एमालेलाई राष्ट्रिय शक्ति बन्नबाट कसैले रोक्न नसक्ने दाबी पनि ओलीले गरे ।