२६ बैशाख २०८१, बुधबार

युरोकप छनोट: पोर्चुगलको अपराजित यात्रा कायमै

portugal

पोर्चुगलले युरोकप छनोटमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । कप्तान क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट एक सय ९९ औँ क्याप जितेको खेलमा पोर्चुगलले बोस्निया हर्जगोभिना माथि ३ – ० गोलको सहज जित हात पारेको हो ।

लिस्वनमा गएराति भएको खेलमा घरेलु टोलीले ४४ औँ मिनेटमा अग्रता लिएको थियो । ब्रुनो फर्नान्डेजको सहयोगमा बर्नान्डो सिल्भाले गोल गरेका थिए । पहिलो हाफमै रोनाल्डोले हेडर गोल गरेका थिए । तर अफसाइड भएपछि उनको गोलले मान्यता पाएन । ७७ औँ मिनेटमा फर्नान्डेजले अग्रता दोब्बर पारे । इन्जुरी समयमा उनैले व्यक्तिगत दोस्रो गोल गरेपछि रोबर्टो मार्टिनेजको टोली ३ – ० को सहज जित हात पार्न सफल भयो ।

समूह ‘जे’ मा रहेको पोर्चुगल तीन खेलबाट तीन अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । रोनाल्डो दुई सयौँ खेल पूरा गर्न अब एक क्यापले पछि छन् । सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता रोनाल्डोले एक सय ९९ खेलमा १ सय २ गोल गरेका छन् ।

समूह ‘एफ’ मा रहेको बेल्जियम अस्ट्रियासँग १ – १ गोलको बराबरीमा रोकियो । ब्रसेल्समा २१ औँ मिनेटमा अस्ट्रियाले मिखाएल ग्रेगोइखको आत्मघाती गोलमार्फत बनाएको थियो ।

६१ औँ मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई हारबाट जोगाए । बेल्जियम, च्याम्पियन्स लिग विजेता म्यानचेस्टर सिटीका केभिन डि ब्रुयना बिना मैदान उत्रिएको थियो । तीन खेलबाट सात अंकका साथ अस्ट्रिया शीर्ष स्थानमा र चार अंक जोडेको बेल्जियम दोस्रो स्थानमा छन् ।

स्कटल्यान्डले अर्लिङ हालान्डको टोली नर्वे माथि २ – १ गोलको रोमाञ्चक जित हात पार्‍यो । ६१ औँ मिनेटमा हालान्डले पेनाल्टीमार्फत गोल गरेका थिए । तर स्कटल्यान्डका लागि ८७ औँ मिनेटमा लिन्डन डाइक्स र ८९ औँ मिनेटमा केनी मेक्लेनले गोल गरे । शतप्रतिशत नतिजा निकालेको स्कटल्यान्ड ९ अंकसहित समूह ए को शीर्ष स्थानमा छ । मात्र एक अंक बटुलेको नर्वे चौथो स्थानमा छ ।

    सम्बन्धित समाचार...