५ जेष्ठ २०८१, शनिबार

राष्ट्रपति पौडेल फेरि अस्पताल भर्ना

Ramchandra Paudel

राष्ट्रपति रामचन्द्र पौडेल पुन: अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेललाई महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

शनिबार बिहान २ बजे मुटुमा पुन: समस्या देखिन थालेपछि राष्ट्रपति पौडेललाई अस्पताल भर्ना गरिएको स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको अधिकारीले जनाए ।

राष्ट्रपति पौडेल बुधबार मात्र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट डिस्चार्ज भएका थिए । मंगलबार बिहान अचानक छाती दुखेपछि उनलाई उक्त अस्पताल भर्ना गरिएको थियो । मुटुको परीक्षण र २४ घन्टा चिकित्सकको निगरानीपछि पौडेललाई अस्पतालले बुधबार बिहान डिस्चार्ज गरेको थियो।

अस्पताल स्रोतका अनुसार पौडेलको मुटुको दाहिनेतर्फ एउटा नसा ७० प्रतिशत बन्द भएको पाइएको थियो । त्यसपछि एनजिओप्लास्टी गरेर रक्तनली खोलिएको थियो । त्यसअघि गत वैशाख ६ गते राष्ट्रपति पौडेललाई उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको थियो । दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा करिब दुई हप्ता उपचार पछि स्वदेश फर्किएका थिए ।

    सम्बन्धित समाचार...