७ जेष्ठ २०८१, सोमबार

सिके राउत भन्छन्- ‘सरकारले बजेट ल्याएको होइन, लुटेको जस्तो देखिन्छ’

CK Raut 1

प्रतिनिधिसभा सदस्य चन्द्रकान्त राउतले सरकारले आगामी वर्षका लागि बजेट ल्याएको जस्तो नभइ बजेट लुटेको जस्तो भएको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बजेट विनियोजनको विषयमा बोल्दै सांसद राउतले यस्तो बताएका हुन् । ‘बजेट बनाएको होइन, बजेट ल्याएको होइन, बजेट लुटेको जस्तो स्पष्ट देखिन्छ’, उनले भने । उनले जसरी चारियारहरूले बैंक लुटेर लैजान्छन्, त्यसैगरी बजेटलाई चारियारले लुटेर गएको जस्तो देखिएको बताए ।

‘लुटेर लग्दा खेरि बाटोमा खुद्रा पैसाहरू खस्दै गएको देखिन्छ । र, चारियारहरू मिलेर अँध्यारोमा गएर बाँडफाँट गरेको देखिन्छ’, उनले थपे । सांसद राउतले सरकारले लुट्ने क्रम जारी नै राखेको दाबी गरे । वैशाखमा मतपेटिका लुटेको र अहिले आएर बजेट लुटेको राउतको आरोप छ । ‘यो सरकारले लुट्ने क्रम जारी नै राखेको छ । वैशाखमा बारामा मतपेटिका लुटे र अहिले जेठमा आएर बजेट लुट्ने काम सरकारले गरेको छ । यो क्रमिक रूपमा जारी नै छ’, राउतले भने ।

सांसद् राउतले आफूहरूले युवालाई रोजगारी सिर्जना गर्ने र उद्योगधन्दालाई प्रोत्साहन दिने खालको बजेट आउला सोचेकोमा कुनै पनि भिजन र योजना भएको, पूराका पूरा लुट्ने खालको बजेट आएको भन्दै निराशा जनाए । उनले प्रधानमन्त्री, अर्थमन्त्री र अन्य मुख्य नेताहरूकै क्षेत्रमा बजेट छुट्याइएको प्रसंग निकाल्दै भने, ‘यहाँ त अब सांसद् बन्नै नहुने भइसक्यो । कि त मन्त्री नै बन्नु पर्छ । सांसद्को गरिमा नै नरहेको आभास हुन थालेको छ ।’

    सम्बन्धित समाचार...