२१ बैशाख २०८१, शुक्रबार

‘वान एक्स बेट’को विज्ञापन गरेको आरोपमा कलाकार ‘बल्छी ध्रुवे’ सहित ८ जना पक्राउ

balchhi

प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’ सहित ८ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार उनीहरु वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गर्नेमा उनीहरु सक्रिय छन् । प्रहरीले उनीहरुको नाम गोप्य राखेको छ ।

पक्राउ परेका कलाकारहरूले युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको प्रहरीको दाबी छ ।

बुधबारमात्रै काठमाडौं अनुसन्धान कार्यालयको टोलीले राजधानीका विभिन्न स्थानबाट पाँच जना नेपाली एजेन्ट पक्राउ गरेको थियो । पक्राउ पर्नेमा दीपेश श्रेष्ठ, दिनेश चन्द, आशीष लामिछानेलगायत रहेका छन् ।

काठमाडौं उपत्यका अनुस्न्धान कार्यालयका अनुसार उनीहरुमाथि प्रारम्भिक अनुसन्धान थाल्दा एक अर्ब बढीको रकम सट्टेबाजी कारोबार गरिएको पाइएको छ ।

नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने व्यवस्था छ । धारा १२५ को (२) को उपदफा (१) को (क)मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना र (ख)मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

    सम्बन्धित समाचार...