२१ बैशाख २०८१, शुक्रबार

आजको मौसमः चार प्रदेशमा पानी पर्ने

weather aajko mausam

कोशी र बागमती प्रदेशको केही स्थान साथै मधेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल नेपालमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

आज दिउँसो र राति आंशिकदेखि सामान्य बदली भई कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

भोलि (बुधबार) कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

बिहीबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

महाशाखाले कोशी, मधेस, बागमती प्रदेशको तराईका भू-भागमा वर्षासँगै थोरै तापक्रम घटेपनि गर्मीको सम्भावना यथावत रहने देखिएको जनाएको छ । कोशी प्रदेशमा बदली र वर्षाको सम्भावना रहेकाले तापक्रम घट्दै जाने र अत्यधिक गर्मी नहुने जनाइएको छ । तर सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको तराईका धेरैजसो भू-भागमा अत्यधिक गर्मीको सम्भावना अझै रहने महाशाखाको विश्लेषण छ।

यस वर्ष मनसुनी वर्षाको आगमन पनि औसत मिति (१३ जुन) भन्दा एक-दुई दिन ढिला हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । जसका कारण नेपालको पश्चिमी भू-भागमा तत्काल पानी पर्ने सम्भावना न्यून छ । वर्षा नहुँदा पश्चिम नेपालको तराई क्षेत्रमा अत्यधिक गर्मी अझै कायम रहने भएको हो । महाशाखाले अत्यधिक गर्मी बढेसँगै तातो हावा तथा लू बाट बच्न आग्रह पनि गरेको छ ।

    सम्बन्धित समाचार...