२१ बैशाख २०८१, शुक्रबार

स्थानीय उत्पादन प्रमोट गर्न प्याज-आलुमा कर लगाइएको हो : अर्थमन्त्री महत

mahat

स्थानीय उत्पादनलाई प्रोत्साहन (प्रमोट) गर्न प्याज-आलुमा कर लगाइएको अर्थमन्त्री प्रकाशशरण महतले दाबी गरेका छन् ।

बजेटमाथि प्रतिनिधिसभाका सांसदहरुले जवाफ दिँदै सोमबार संसद्‌मा उनले आलु-प्याज साना उत्पादन गर्ने किसान र साना पसलहरुमा लागु नहुने उनले जानकारी दिए । उनका अनुसार विशेषगरी ठूला पसलहरुमा बेच्न राखिएका प्यज-आलुमा कर लगाइएको हो ।

‘जहाँसम्म स्थानीय उत्पादनको के हुन्छ ? भन्ने कुरो छ । डिपार्टमेन्टल स्टोरहरुमा ठूलो स्केलमा, अर्गनाइज स्केलमा जसले सेल गर्छन् । त्यहाँ भने कर लाग्छ । त्यहाँ जाने अधिकांश तुलनात्मक रुपमा सम्पन्नहरु नै जान्छन्,’ अर्थमन्त्री महतले संसद्‌मा भने, ‘आम सप्लायरहरु छन् । साना-साना उत्पादन गर्नेहरु छन् । सानो-सानो पसलमा बिक्री गर्छन् । उनीहरु यो भ्याट करबाट छुट पाउँछन् । त्यसकारण स्थानीय उत्पादनलाई प्रमोट गर्न प्याज-आलुमा कर ल्याइएको हो ।’

उनले खाद्यवस्तुको आयात धेरै भएकाले पनि प्याज-आलुमा कर लगाउनुपरेको जनाएका छन् । कृषिप्रधान देशमा हामीहरुले आयात मात्र गरिरहेको हुँदा अर्बौं विदेशिनबाट रोक्नका लागि आलु-प्याजमा कर लगाइएको अर्थमन्त्री महतले दाबी गरे ।

‘एउटा विशेषगरी कुरो उठेको छ । खाद्यवस्तुमा, प्याज-आलु स्याउलगायत उपभोग्य वस्तुमा किन भ्याट लगाइयो ? भन्ने सवाल छ । यसमा खाद्य आयात धेरै भइरहेको छ । हामी कृषिप्रधान देश भन्छौं । तर हामी आयात मात्रै गरिराखेका छौं । अर्बौं गइरहेको छ भनेर हामीले भनिरहेका छौं । त्यसलाई संरक्षण गर्नुपर्‍यो,’ महतले भने ।

उनले स्थानीय किसान र उद्यमीको संरक्षणका लागि प्याज-आलुमा कर लगााइएको दाबी पनि गरे । ‘स्थानीय किसान, उद्यमीलाई संरक्षण गर्नुपर्‍यो भनेर यसमा ट्याक्स लगाइएको हो, भन्सारमा । साफ्टाको हाम्रो सम्झौताले गर्दा ज्यादा भन्सार हामीले लगाउन पाउँदैनौं । त्यसकारण भ्याटमार्फत यसलाई अलिकति क्षतिपूर्ति गर्ने कोसिस गरिएको हो । भन्सारविन्दुमै कर लाग्छ,’ अर्थमन्त्री महतले संसद्‌मा भने ।

    सम्बन्धित समाचार...