२ जेष्ठ २०८१, बुधबार

चित्रबहादुर केसी भन्छन् – प्रचण्डले तीन धर्के टीका लगाएर हिँड्न बेर छैन

chitra badhur kc
फाइल फोटो

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले ठूला नेताहरुको मनपरीका कारण लोकतन्त्र र गणतन्त्रको विरोधीको मनोबल बढेको बताएका छन् ।

‘बजेटमा सबै ठाउँमा समान रुपमा वितरण गर्नुपर्ने हो । तर सबैभन्दा शक्तिशाली नेताहरुको क्षेत्रमा मात्र पुगेको छ भन्छन् । जो भान्से हो, जसको हातमा डाडुपन्युँ छ, उसले आफ्नो जिल्ला र क्षेत्रमा बाँड्छ भने त त्यो अन्याय हो । के मुलुकको ढुकुटी तिनीहरुको बाबुबाजको बपौती त होइन न । यो नेपाली जनताको पसिनाको कमाइ हो । यिनीहरुप्रतिको आक्रोशले लोकतन्त्र र गणतन्त्र किन चाहियो भन्न थालेका छन्, त्यसले आक्रोशले लोकतन्त्र र गणतन्त्र विरोधीको मनोबल उठेको छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’सँग संवाद गर्दै उनले भने ।

बजेट जस्तोसुकै भए पनि पास गर्नुपर्ने बाध्यता आफ्नो दललाई रहेको पनि केसीले सुनाए । उनले भने, ‘प्रमुख कुरा त लोकतन्त्र हो । लोकतन्त्रको अभावमा हामी अन्यायविरुद्ध लड्न सक्दैन । अहिलेको सरकार ठीक छ भन्ने होइन । तर लोकतन्त्र र गणतन्त्रको सर्तमा समर्थन गरेका हौं । हामीले बजेटलाई समर्थन नगरे सरकार ढल्छ । त्यसका लागि लोकतन्त्रविरोधी शक्ति लुगा दौरासुरुवाल लगाएर बसेको छ । त्यसको इतिहास हामीलाई थाहा छ । ओलीहरु पनि हामीले चिनेकै विष्ट हो नि ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पशुपतिनाथ दर्शनको पनि केसीले खुलेर आलोचना गरे । उनले थपे, ‘यो पशुपतिको पूजा होइन, छिमेकको सरकार प्रमुखको पुजा हो । यो पुरातनवादी विचार हो । जनतामाथि धोका हो । यो सांस्कृतिक पतन हो । जनतालाई द्वन्द्वात्मक भौतिकवाद भनेर किन गफ लगाएको ? चराचर जगत् कसले सञ्चालन गरेको भनेर किन झुक्काएको ? आफूलाई अनिश्वरवादी भनेर किन झूट बोलेको ? कोही रातारात गेरुवस्त्र लगाउने, कोही जलहारी चढाउने ? प्रचण्ड अब वैष्णव भएर दिउँसै तीन धर्के टीका लगाएर हिँड्न बेर छैन ।’

उनले सरकारले किसानको मर्का बुझ्न नसकेको र बाँदर आतंक नियन्त्रण गर्न नसकेको आरोप पनि लगाए । नेता केसीले भने, ‘यहाँ बहुराष्ट्रिय कम्पनीको टमाटर आउँछ । विदेशी टमाटर ओइरो लगाउने, नेपाली किसानलाई समयमा मल, बिउ नदिने, बल्ल बल्ल फलाएको टमाटर बाटोमा फाल्नुपर्ने बाध्यता छ । किसानका खेतखलिहान बाँदरले कब्जा गरेको छ । ३८ जिल्लामा बाँदर आतंक छ । त्यो नियन्त्रण सरकारको बुताबाहिरको कुरा हो ।’

    सम्बन्धित समाचार...