२३ बैशाख २०८१, आईतवार

सम्बन्ध सुधार गर्दै देउवा-कोइराला

deuba shekhar

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गत १४औं महाधिवेशनमा उनीसँगै सभापतिमा पराजित नेता डा. शेखर कोइरालाबीच सम्बन्ध सुधार हुँदै गएको छ । लामो समयसम्म पार्टी कुनै पनि निर्णयमा एक ठाउँमा बसेर छलफल गर्न नसकेका कांग्रेसका शीर्ष दुई नेताबीच पछिल्लो केही समययता सम्बन्धलाई सुधार गर्ने संकेत देखाएका हुन् ।

सभापति देउवाबाट पार्टी र देश चल्न नसक्ने भन्दै कुनै पनि हालतमा नेतृत्व फेर्नुपर्ने एजेन्डा लिएर संस्थापनइतर समूहलाई सशक्त बनाएका नेता कोइराला र सभापति देउवाबीचको सम्बन्ध मन्त्रीपरिषद् विस्तारदेखि सुधारको प्रयास भएको हो । प्रचण्ड नेतृत्वको सरकारको मन्त्रीमण्डलमा सभापति देउवाले कोइराला समूहबाट महामन्त्री जितेका गगन थापासहितका पदाधिकारीलाई बेवास्ता गर्दै कोइरालालाई एकलरूपमा मन्त्री पठाउन आग्रह गरेका थिए।

सरकारमा पठाउने मन्त्रीका विषयमा आफूहरूसँग कुनै छलफल नगरिएको भन्दै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सार्वजनिक रूपमा पटक पटक विरोध गरेपनि नेता कोइरालाले सभापतिको निर्णयलाई स्वीका गर्दै आएका थिए। कांग्रेसबाट सरकारमा जाने ९ मन्त्रीमध्ये २ जान इतर समूहका पठाउन सभापतिले आग्रह गरेपछि केही दिन उक्त निर्णयको विरोध जनाउँदै आफ्नो तर्फबाट सम्मानजनक सहभागिता नगराइए सरकारमै सहभागी नहुने बताउँदै आएको नेता कोइराला समूह अन्ततः कानुनमन्त्री धनराज गुरुङ र खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई पठाएर चित्त बुझाएको थियो ।

उक्त निर्णयमा कोइराला सहमत भएकोप्रति कोइराला समूहबाटै निर्वाचित पार्टीका महामन्त्री थापा रुष्ट बनेका थिए । निकै लामो समय दुई ध्रुवमा रहेका नेता देउवा र कोइरालाले शनिबार भक्तपुर कांग्रेसले आयोजना गरेको एक कार्यक्रममा संगै रहेर भाषण गरे ।

दुई नेताहरूबीच वर्षौंपछिको एउटै स्टेज कार्यक्रमले पनि देउवा–कोइराला सम्बन्धमा सुधार आएको कार्यकर्ताहरूले महसस गरेका छन् । सोही कार्यक्रममा दुवै नेताहरूले पार्टीमा सबै एक भएर गुटरहित भएर जानुपर्ने बताएका छन् । नेता कोइरालाले कांग्रेसमा गुट भएको तर उक्त गुटबन्दीले पार्टीलाई सखाप पार्ने भएकाले विस्तारै गुटरहित कांग्रेस बनाउनुपर्ने बताए ।

सभापति देउवाले नेता कोइरालालाई विस्तारै आफ्नो पक्षमा ल्याउने कसरतमा लागेको नेपाली कांग्रेसका केन्द्रीय नेताहरूको बुझाइ छ । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित समाचार...