२० बैशाख २०८१, बिहीबार

डोनल्ड ट्रम्पमाथि सैन्य योजनासहितका गोप्य दस्ताबेज दुरुपयोगको अभियोग

Donald Trump

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि परमाणु हतियारको कार्यक्रम र सैन्य योजनासहितका सयौँ गोप्य दस्ताबेज दुरुपयोग गरेको आरोपमा मुद्दा दायर भएको छ । उनीमाथि ३७ बुँदे अभियोगसहित दक्षिण फ्लोरिडाको अदालतमा मुद्दा दायर भएको हो ।

ट्रम्पलाई गोप्य सरकारी दस्ताबेज आफ्नो फ्लोरिडास्थित निवासमा राखेको र अनुसन्धानकर्तासामु झुट बोलेको लगायत आरोप लगाइएको छ । सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवारी घोषणा गरेका ट्रम्पले अभियोग अस्वीकार गर्दै आएका छन् । तर, अभियोग प्रमाणित भए उनलाई जेल सजायसमेत हुनसक्ने समेत कानुनविद्हरूले जनाएका छन् ।

ट्रम्पका निजी सहयोगी वाल्ट नाउटाविरुद्ध पनि अभियोग दर्ता गरिएको छ । उनीमाथि एफबीआईबाट जोगाउन सरकारी दस्ताबेजलाई ट्रम्पको घर लैजान सहयोग गरेको आरोप छ ।

पहिलो पटक अमेरिकी पूर्वराष्ट्रपतिलाई संघीय अदालतमा मुद्दा दायर गरिएको हो । अभियोजनकर्ताले ट्रम्पले अवकाश पाएपछि ३ सय गोप्य दस्ताबेजसहितको सरकारी फाइल मार-ए-लागो रिसोर्टमा लगेको आरोप लगाएका छन् ।

अभियोजनकर्ताका अनुसार ट्रम्पले एफबीआइको अनुसन्धानलाई अवरोध गर्नुका साथै ती दस्ताबेजलाई लुकाउन र नष्ट गर्न सल्लाह दिएका थिए । यो मुद्दामा उनी आगामी मंगलबार मियामी अदालतमा पहिलो पटक उपस्थित हुँदै छन्, उक्त दिन उनको ७७ औँ जन्मदिन समेत हो ।

    सम्बन्धित समाचार...