६ जेष्ठ २०८१, आईतवार

रवि लामिछाने भन्छन्- भैंसी, राँगाको गफ गरेर ५ वर्ष बिताउने हो भने हामीले गोबरबाहेक केही पाउँदैनौं

rabi lamichhane 2

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा आफ्नो पार्टीका सांसदहरुको केही दिनयताको बहस अमर्यादित भएको भन्दै माफी मागेका छन् ।

प्रतिनिधिसभा बिहीबारको बैठकमा सभापति लामिछानेले विगत केही दिनयता प्रतिनिधिसभामा भएको छलफलबाट आफू लज्जित भएको धारणा राखे । उनले प्रतिनिधिसभा बैठकमा राँगा र भैंसीको विषयमा गफ गरेर पाँच वर्ष बिताएमा गोबरबाहेक केही पनि नपाउने दाबी गरे । यस विषयमा गरेको गफप्रति आफू आत्मआलोचित भएको भन्दै सभापति लामिछानेले बजेटका विषयमा कुराकानी गरिरहँदा यस्तो विषय बैठकमा उठ्नुले सर्वसाधारणमा राम्रो सन्देश नगएको भन्दै आफ्नो भागमा पर्ने दोषप्रति आफू जिम्मेवार भएको र क्षमायाचना गर्ने जनाए ।

‘हामीले पार्लियामेन्टको डिग्निटी राख्नलाई कहीँ कतै चुकिरहेका त छैनौं ? यसबारे अलिकति ध्यानाकर्षण गराउन चाहन्छु । जस्ता-जस्ता विषयहरुमा हामीले छलफल गर्‍यौं हामी नयाँ राजनीतिक दलका हिसाबमा । चाहे ती हाम्रा पक्षबाट आएका हुन् या अन्य राजनीतिक दलबाट आएका विषयहरु हुन् । हामी कहीँ न कहीँ लज्जित भएका छौं । यो सदन भैंसी, राँगाको विषयमा गफ गरेर यदि पाँच वर्ष बिताउने हो भने हामीले गोबरबाहेक केही पनि प्राप्त गर्न सक्दैनौ,’ उनले भने, ‘हामी आत्मआलोचना गर्न चाहन्छौं । हाम्रा दलबाट पनि भएका कमी-कमजोरीलाई आत्मआलोचना गर्न चाहन्छौं । र नयाँ राजनीतिक दलका रुपमा हामी एउटा नयाँ अभ्यास लिएर आएका छौं । हामीले आज बजेटमा कुराकानी गरिरहँदा, राष्ट्रका महत्त्वपूर्ण मुद्दामा कुराकानी गरिरहँदा आमसर्वसाधारणमा संसद्‌बाट राम्रो सन्देश गएको छैन । म आफ्नो भागमा परेको ब्लेम, आफ्नो भागमा परेको जुन दुःख छ, आफू जिम्मेवार हुन चाहन्छु र आफ्नो राजनीतिक दलको तर्फबाट गत केही दिनमा भएका बहस अलिकति अमर्यादित भएकामा क्षमायाचना गर्न चाहन्छु ।’

सभापति लामिछानेले हचुवाका भरमा बजेट निर्माण भएको टिप्पणी गरे । उनले बजेट राजस्वमा आधारित भएको भन्दै कार्यान्वयनमा आशंका गरे । उनले गोरखा, नुवाकोट र डडेलधुरामा मात्रै विकास बजेट गएको समाचारहरु बाहिरिएको भन्दै यस सम्बन्धमा अर्थमन्त्रीको जवाफको माग गरे । उनले बजेटमा विदेशमा भएका नेपालीलाई मताधिकार दिने विषय नपरेकामा असन्तुष्टि व्यक्त गरे । सभापति लामिछानेले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग गरे ।

त्यसैगरी उनले आगामी दिनमा बजेट बन्नुभन्दा ५ महिनाअगाडि नै शिक्षा र स्वास्थ्य नीति कस्तो बनाउने भन्ने सम्बन्धमा बृहत् छलफल गरेर साझा अवधारणा बनाउनुपर्नेमा जोड दिए । त्यस्तै आफूहरु जन्मसिद्ध नागरिकले नागरिकता पाउनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गर्दै नागरिकता विधेयक संसद्‌मा छलफल हुनुपर्ने र आफूहरु छलफलमा भाग लिन पाउनुपर्ने पक्षमा रहेको लामिछानेको भनाइ छ ।

    सम्बन्धित समाचार...