२३ बैशाख २०८१, आईतवार

शरणार्थी प्रकरण : क्यान्सर पीडितलाई ठगीको आरोप लगाउन मिल्छ ?

bhutsani

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा जारी थुनछेक बहसमा बुधबारदेखि प्रतिवादीकातर्फबाट कानुन व्यवसायीले बहस शुरू गरेका छन् ।

जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको बहसमा प्रतिवादीका तर्फबाट कानुन व्यवसायीले आरोपितहरूलाई लगाइएको आरोप पुष्टि हुन सक्ने आधार र कारण नै नभएकाले थुनामा पठाउने प्रश्न नै नआउने जिकिर गरेका छन् । गत आइतबारदेखि काठमाडौं जिल्ला अदालतमा जारी थुनछेक बहसमा जाहेरीवाला र सरकारी वकिलको तर्फबाट तीन दिनसम्म बहस चलेको थियो ।

जाहेरीवाला आफैं मलाई भुटानी शरणार्थी बनाइदेऊ भनेर उक्सेर आएका हुन् । गैरकानुनी कार्य गर्नका लागि प्रतिवादीलाई जाहेरवालाले उत्प्रेरित गरेको हो । नक्कली शरणार्थी बनेर अहिलेसम्म कोही पनि अमेरिका पुगेको छैन । त्यसैले यो अपराध हुन सक्दैन ।’ प्रतिवादीका कानुन व्यवसायीहरूले आ–आफ्ना तर्क गर्र्दै दाबी गरेका थिए ।

यस अघिको बहसमा जाहेरीवाला र सरकारी वकिलले प्रतिवादीलाई थुनामुक्त गरे प्रमाण नष्ट हुनसक्ने भन्दै थुनामा राखेर नै मुद्दाको पुर्पक्ष गर्नुपर्ने दलिल पेस गरेका थिए भने प्रतिवादीको तर्फबाट बोल्ने क्रममा कानुन व्यवसायीले अमेरिका जान पैसा बुझाएको भरमा मात्रै आरोप स्थापित नहुने जिकिर गरेका थिए ।

बहसको क्रममा अधिवक्ता विकास भट्टराईले प्रतिवादी केशव दुलालमाथि लगाइएको आरोप पुष्टि हुन नसक्ने दाबी गर्दै प्रतिवादीहरू ठगीमा संलग्न रहेको आरोप नै गलत रहेको बताए। अधिवक्ता भट्टराईले यो मुद्दामा दुलालले अरुलाई पीडा दिएको नभई दुलाल आफैं पीडित रहेको जिकिर गरे। दुलाल ठगीमा संलग्न रहेको भन्ने दाबी नै गलत रहेको अधिवक्ता भट्टराईको भनाइ थियो ।

‘दुलालले बयानमा सन्देश शर्माले आफू र आफ्ना मान्छेसँग अमेरिका मान्छे पठाउन एक करोड रुपैयाँ लिएको भनेको अवस्था छ । उहाँ आफैं ठगिएको अवस्थामा उहाँले ठगेको भन्नु गलत हो ।’ अधिवक्ता भट्टराईले बहसका क्रममा दाबी गरेका थिए।

अधिवक्ता भट्टराईले शरणार्थीको बायोमेट्रिक गरेको कुरा पुष्टि नहुने दाबी गर्दै चितवनमा गएर बायोमेट्रिक गरेर दुई करोड रुपौँ लिएको पुष्टि कसरी हुन्छ भन्ने प्रश्न गरे । केशव दुलालले गृह मन्त्रालयमा गएर लिखत परिवर्तन गरे भन्ने आरोपको आधार के हो र दुलाललाई कसरी त्यस्तो हैसियत प्राप्त हुन्छ र भन्ने प्रश्नसमेत अधिवक्ता भट्टराईले गरे।

वरिष्ठ अधिवक्ता योगेन्द्र अधिकारीले गृह मन्त्रालयमा भएको डकुमेन्ट थपघट गर्न केशव दुलालको भूमिका कसरी हुन्छ भन्ने प्रश्न गरे। दफा तोकेर आरोप लगाउँदैमा त्यसको पुष्टि हुन सक्दैन ।’ उनले भने। अधिवक्ता अधिकारीले २०७० सालदेखि केशव दुलालकी पत्नी क्यान्सर पीडित रहेको भन्दै र उनलाई समेत ठगी प्रकरणमा प्रतिवादी बनाइएकोमा प्रश्न गर्दै भने,– क्यान्सर लागेर उपचाररत मान्छे कसरी ठगी प्रकरणमा सामेल हुन सक्छ ?’ नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

    सम्बन्धित समाचार...