६ जेष्ठ २०८१, आईतवार

नेपालको राष्ट्रियता, सार्वभौम सत्ता र अखण्डतामाथि भारतबाट खतरा छः चित्रबहादुर केसी

chitra bahadur kc

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको राष्ट्रियता, सार्वभौम सत्ता र अखण्डतामाथि भारतबाटै गम्भीर खतरा रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भारतप्रति नेपाली जनता चनाखो हुने बेला आएको बताएका हुन् ।

‘नेपालमाथि भारतीय शासकहरुको हेराई छ, त्यो गम्भीर छ । नेपाली जनता चनाखो हु्नुपर्छ । देशको राष्ट्रियता, सार्वभौमता र अखण्डतामाथि भारतबाट नै सबैभन्दा बढी खतरा छ,’– केसीले भने ।

भारतले नेपालका शासकहरुलाई विरालाले मुसो खेलाएझैं खेलाएर नेपालको राष्ट्रियतामाथि, सार्वभौमता र अखण्डतामाथि कब्जा जमाएको उनको अरोप छ । भारतले नेपालको प्राकृतिक स्रोत, साधन र जनसंख्यामाथि कब्जा गर्न खोजेको उनले बताए ।

केसीले अंगिकृतलाई वंशज नागरिकता दिएर भारतले नेपालमा जनसांख्यिक हिसाबले नेपालमा बहुमत पुर्‍याउन खोजेका आरोप लगाए । भारतले नेपाललाई सिक्किम र भुटान बनाउन खोजेको उनको आरोप छ ।

अंगिकृतबाट जन्मिएकालाई बंशजको नागरिकता दिनै नमिल्ने उनले तर्क गरेका छन् । संविधानमै त्यो कुरा राखेर नेपाललाई कमजोर पार्न खोजिएको उनले बताए। ‘भारतीय शासकहरुले भनेका छन् नेपालमा एक करोड भारतीय छन् भनेर। एकातिर भुगोलमाथि आक्रमण, अर्कोतिर जनसांख्यिक आक्रमण गरेर भारतले नेपाललाई सिक्किम बनाउन, भूटान बनाउन प्रयत्न गरिराखेको छ,’ केसीले भने ।

नेपाललाई हिन्दुराज्य बनाउने मात्रै बनाउने नभई अखण्ड भारतमा समे सामेल गराउने तयारी भारतको रहेको उनले टिप्पणी गरे ।

यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नागरिकता विधेयक प्रमाणीकरणका लागि जस लिन नपाएर आक्रोस पोखिरहेको बताएका छन् । एमालेले पनि यो विधेयक ल्याउन खोजेकोमा त्यसको जस लिन नपाउँदा उसलाई छटपटी भइरहेको उनको भनाइ थियो।

    सम्बन्धित समाचार...