१७ बैशाख २०८१, सोमबार

‘गेरू वस्त्र’ धारणबारे प्रधानमन्त्रीले भने, ‘अहिले म कम्युनिष्ट मात्र होइन, प्रधानमन्त्री पनि हुँ’

pm1685800519

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतको मध्य प्रदेश राज्यस्थित उज्जेन सहरमा रहेको प्रसिद्ध महाकालेश्वर मन्दिरको पूजालाई ‘सांस्कृतिक कूटनीति’ को रुपमा बुझ्न आग्रह गरेका छन् ।

भारतको चार दिने औपचारिक भ्रमण सकेर शनिबार साँझ नेपाल फर्किएका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ‘गेरु वस्त्र’ लगाएर भारतका अर्बौं जनताको मन जित्ने काम आफूले गरेको बताएका छन् । ‘म कम्युनिस्ट मात्र होइन, प्रधानमन्त्री पनि हो नि त । मसँग हुने सेक्युरेटिले सकेसम्म गेरु वस्त्र नलगाउन निकै बल गर्नुभयो । तर त्यहाँ लाउनै पर्ने नीति रहेछ । मैले त्यहाँ लाउँदिन भनेको भए के हो नेपाल सरकार भनेर भारतका अर्बौं मान्छेको मन खुशी भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रधानमन्त्री प्रचण्डले उक्त अवतार आफ्नो पूरानो भएको पनि बताए । ‘नयाँ होइन यो मेरो पुरानै अवतार हो । म मुस्लिम कम्युनिटीको कार्यक्रममा गएर मुस्लिम भएको देख्नु भएको छ कि छैन ? क्रिश्चियनको गिर्जा घरमा गएर मन्त्र जपेको फोटो छ कि छैनन् ?,’ उनले भने, ‘बुद्धिस्टकोमा जान हुने हिन्दूकोमा जान नहुने त हुँदैन नि ।’

‘श्रीमतीलाई ठिक हुन्छ भनेर महाकालेश्वर मन्दिरमा रुद्राक्ष चढाएको होइन’

प्रधानमन्त्री प्रचण्डले पत्नी सीता दाहालको स्वास्थ्य ठिक हुन्छ भनेर आफूले महाकालेश्वर मन्दिरमा रुद्राक्ष नचढाएको स्पष्ट पारेका छन् । भारत भ्रमणका क्रममा शुक्रबार भारतको मध्य प्रदेश राज्यस्थित उज्जैन सहरमा रहेको प्रसिद्ध महाकालेश्वर मन्दिरमा पूजा गरेका थिए ।

त्यसबारे सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री एनपी साउदको इच्छामा रुद्राक्ष बोकेर गएको पनि बताए । ‘मिडियामा आएको देखें मैले । रुद्राक्ष, यो लाने इनिसियटिभ्स परराष्ट्रमन्त्रीको हो । उहाँले यो लानुपर्छ भनेपछि हुन्छ तपाईंले लानु हुन्छ भने राम्रै हुन्छ भनेको हो मैल । उहाँले लगेकोलाई मैले नछुने अब ?,’ प्रधानमन्त्री प्रचण्डले भने ।

उक्त रुद्राक्ष चढाउनेबारे आफ्नो दिमागमा नभएको पनि प्रचण्डले बताएका छन् । ‘त्यो चढाएको श्रीमतीको स्वास्थ्य ठिक हुन्छ भनेर विल्कुल होइन । त्यो मेरो दिमागमा थिएन, अहिले पनि छैन । यहाँ पत्नीको स्वास्थ्यका लागि रुद्राक्ष दियो भनेर तल झारिदिने क्या ?,’ प्रधानमन्त्री प्रचण्डले भने ।

पत्नी दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै उनले निको नहुने खालको रोग लागेको जानकारी गराए । ‘मेरो पत्नीको स्थिति के छ तपाईंहरु सबैलाई थाहा छ । उनको बिमार निको हुने खालको नै होइन । म कस्तो प्रवृत्तिको मान्छे तपाईंहरुलाई थाहा छ’, प्रधानमन्त्री प्रचण्डले थपे, ‘अनि म महाकालेश्वर गएर पत्नी बचाइ पाउँ भन्छु होला त ? त्यसको केही अर्थ हुन्छ । मान्छेले गर्ने पनि सीमाभित्र बसेर गर्नु प¥यो, त्यो अलि बढी भयो ।’

    सम्बन्धित समाचार...