३ जेष्ठ २०८१, बिहीबार

पूर्वगृहमन्त्री खाँणको बयानः ‘जनता झुक्याउने र अनुचित लाभ लिनेबारे सोच्न पनि सक्दिन’

khad 1

पूर्वगृहमन्त्री बालकृष्ण खाँणले राज्यविरुद्धको काम आफूले सोच्न पनि नसक्ने बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका उनले अदालतमा बयानका क्रममा विद्यार्थीकालदेखि नै राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकताका लागि प्रतिबद्ध भएर लागेको र राष्ट्रहित विपरीतका काम सोच्न पनि नसक्ने बताएका हुन् ।

आफूले विभिन्न समयमा चार पटकसम्म मन्त्रीको जिम्मेवारी सम्हालेको स्मरण गर्दै उनले जिम्मेवारीमा रहँदा संविधान र कानुन विपरितका कुनै काम नगरेको जिकिर गरे । ‘म २०४८ सालमा प्रतिनिधि सभाको सदस्य २०६४ साल र २०७० संविधान सभाको सदस्य, २०७४ मा प्रतिनिधि सभाको सदस्य तथा विभिन्न मितिमा चारपटकसम्म मन्त्रीको जिम्मेदारी सम्हाल्ने मौका पाएँ। मैले पछिल्लोपटक गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दा संविधिान र कानुनको पालना गर्दै देशमा शान्ति, सुव्यवस्था र अमनचयन कायम गर्ने भूमिका निर्वाह गरेको छु,’– उनले इजलासमा बयानको क्रममा भनेका छन् ।

आफूले विभिन्न रोगको नियमित रुपमा औषधी सेवन गरेको उल्लेख गर्दै उनले राज्यकोषबाट उपचार खर्चसमेत नलिएको दाबी गरेका छन् । जनतालाई झुक्याउने, अनुचित लाभ लिने कुनै कार्यबारेमा सोच्न पनि नसक्ने उनले बताए ।

‘म विभिन्न रोगहरूको निवारणको लागि नियमित औषधीहरू सेवन गरिरहे पनि हालसम्म मैले राज्यकोषबाट उपचार खर्चसमेत लिएको छैन। म ईश्वरमा विश्वास गर्दछु। धार्मिक प्रवृत्तिको व्यक्ति हुँ। जनतालाई झुक्याउने, अनुचित लाभ लिने कुनै कार्य गर्नेबारे सोच्न पनि सक्दिनँ,’–बयानका क्रममा उनले भनेका छन् ।

    सम्बन्धित समाचार...