१५ चैत्र २०८०, बिहीबार

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि विरोध गर्ने कि समर्थन गर्ने भन्ने दोधारमा एमाले !

uml sachibalaya baithak
फाइल फोटो

अघिल्लो संसदले पारित गरे पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विधेयक हालका राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरिदएपछि एमाले विरोध गर्ने कि समर्थन गर्ने भन्ने दोधारमा परेको छ ।

सार्वभौम संसदबाटै पारित हुँदा प्रमाणीकरण नगर्न तत्कालीन राष्ट्रपतिमाथि दबाब बढाएको एमाले यतिबेला भने खुलेर विरोधमा उत्रिन सकेको छैन । यद्यपि भातृ संगठनहरु भने चरणबद्ध विरोधका कार्यक्रममा सहभागी छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछि एमाले तैँ चुप मै चुपको अवस्थामा देखिएको छ । विधेयकका अन्तरवस्तु तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको अध्यादेशसँगै मिल्न गएपछि एमाले नैतिक संकटमा परेको हो ।

राष्ट्रपति पौडेलबाट विधेयक प्रमाणीकरण भएलगत्तै भ्रातृ संस्थालाई सडकमा उतारेको एमालेले आफैले भने संस्थागत रुपमा विरोध गर्न सकेको छैन ।

एकातिर विधेयकको औचित्य र अर्कोतिर विरोधको औचित्य तौलिरहेको एमाले असमन्जस्यतामा परेको हो । तर सचिव पद्मा अर्याल भने राष्ट्रपतिबाट प्रमाणीकरण गरिएको विधेयकको विषयमा आफ्नो पार्टीमा कुनै दुविधा नरहेको दाबी गर्नुहुन्छ ।

एकातिर पार्टीले आफैंले प्रतिवाद गर्न हिच्किचाउने अर्कोतर्फ भातृसंगठनलाई भने आन्दोलनमा उस्काउने एमालेले दोहोरो चरित्र देखाइरहेको टिप्पणीसमेत हुन थालेको छ ।

एमालेका कतिपय नेताहरु विधेयकको अन्तरवस्तुमा भन्दा पनि प्रक्रियामा असहमति रहेको बताउँदै आएका छन् । तर राष्ट्रपतिको दुरुपयोगमा समेत एमालेमाथिको नैतिक प्रश्न मत्थर भइसकेको छैन । जसका कारण फाट्टफुट्ट बाहेक एमालेका नेताहरुमा विरोध गर्ने सामर्थ्य जुटिरहेको छैन ।