२६ बैशाख २०८१, बुधबार

सांसद सोविता गौतमले प्रेमी गिरेन्द्रसँग सुटुक्क लगनगाँठो कसिन्

sobita and grihendra

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपाली चलचित्रकर्मी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी छन् ।

भक्तपुरको कमेरेटारस्थित सोबिताको माइतीघरमा आयोजित धार्मिक अनुष्ठानकै अवसरमा विवाह भएको नेपालप्रेसले लेखेको छ । समाचारअनुसार पारिवारिक श्रोतले विवाह भएको पुष्टी गरेतापनि वैवाहिक समारोहका फोटोहरु सार्वजनिक भएका छैनन् । विवाहपश्चात उनिहरु जापान भ्रमणमा पुगेको बताईएको छ ।

गृहेन्द्र चलचित्र निर्माण तथा ईभेन्ट म्यानेजमेन्ट गर्ने कम्पनी गृष्मा ब्रोडकास्टिङका सञ्चालक हुन् । उनको यस कम्पनीले नेपालका सातवटै प्रदेशमा हरेक बर्ष सप्तरङ्ग नामक कार्यक्रमको आयोजना गर्दै आएको छ भने नेपाल आइडल-३ का उत्कृष्ट तीन विजेतालाई विश्वभ्रमण लगायतका कार्यक्रमहरुको आयोजना गर्छ । यो कम्पनीले चलचित्र निर्माणको काम समेत गर्ने गर्छ ।

स्रोतका अनुसार माओवादीमा आवद्ध घिमिरे र सोविता लामो समयदेखि प्रेममा थिए । चितवन घर भएका गृहेन्द्र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाञ्जा पर्छन् । घरमा पूजा लगाएका बेला सानो जमघटमा उनीहरु प्रणयसुत्रमा बाँधिएको बुझिएको छ ।

विवाहपश्चात दुवैजना जापान लागेका छन् । सोविताले आफू केही दिनका लागि जापान जान लागेको पार्टीलाई जानकारी गराएकी थिइन् । व्यक्तिगत प्रयोजनले जान लागेको भनेर सन्देश पठाएको पार्टी स्रोतले बतायो । उनले विवाह गरेको विषयमा भने जानकारी दिएकी छैनन् ।

सोविता र गृहेन्द्र प्रेम सम्वन्धमा रहेको रास्वपाका सीमित नेताहरुलाई थाहा थियो । अचानक विवाहको खबरले उनीहरु पनि चकित परेका छन् ।

सोविताकी बहिनी प्रकृतिले दिदीको विवाह भएको पुष्टी गरिन् । तर, थप जानकारी दिन चाहिनन् । पारिवारिक स्रोतका अनुसार भक्तपुरको कमेरेटारस्थित सोबिताको माइतीघरमा आयोजित धार्मिक अनुष्ठानकै अवसरमा गत साता बैबाहिक विधि पूरा गरिएको हो । दुवै पक्षले विवाहका तस्विरहरु सार्वजनिक गरेका छैनन् ।

२८ वर्षिया सोविता गत मंसिरमा भएको आमनिर्वाचनमा प्रत्यक्षतर्फ काठमाडौं-२ बाट विजयी भएकी हुन् । उनले प्रतिनिधिसभामा प्रभावशाली भूमिका खेल्दै आएकी छन् ।

रास्वपाको बौद्धिक र जुझारु युवा अनुहारमा उनको नाम आउँछ । उनी कानूनकी विद्यार्थी हुन् । विगतमा टेलिभिजन कार्यक्रमको प्रस्तुतकर्ता र निर्माताका रुपमा पनि उनले काम गरेकी थिइन् ।

    सम्बन्धित समाचार...