२० बैशाख २०८१, बिहीबार

नागरिकता विधेयक प्रमाणीकरणको प्रतिपक्षबाट विरोध, सत्तापक्षको समर्थन

President Paudel

संसद्का दुवै सदनबाट पारित भएर तत्कालीन राष्ट्रपतिबाट प्रमाणीकरण रोकिँदै आइरहेको नागरिकता विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र्र पौडेलले प्रमाणीकरण गरेका छन् । नागरिकता विधेयक प्रमाणीकरणप्रति विपक्षीको विरोध र सत्ता पक्षको समर्थन देखिएको छ ।

संसद्का दुवै सदनबाट पारित भएको विधेयकलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गत असोजमा प्रमाणीकरण नगरी फिर्ता पठाइदिएकी थिइन् । तर, वर्तमान मन्त्रिपरिषद्ले गत १२ जेठमा निर्णय गरी पुनः प्रमाणीकरणका लागि पठाएपछि सोही विधेयकलाई राष्ट्रपति पौडेलले बुधबार प्रमाणीकरण गर्दै जारी गरेका हुन् ।

राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्को आग्रहअनुसार संविधानको धारा ६१ को उपधारा ९२०, ९३०, ९४० र धारा ६६ बमोजिम राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेको जनाएको छ । संविधानका ती धारामा राष्ट्रपतिले संविधान र संघीय कानुनबमोजिम आफ्नो कार्य गर्ने उल्लेख छ । पहिलोपटक संसद्ले नागरिकता विधेयक १६ साउन २०७९ मा तत्कालीन राष्ट्रपति भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाएको थियो । तर, सो विधेयकका केही विषयप्रति असहमति राख्दै भण्डारीले २९ साउन २०७९ मा आफ्नो सन्देशसहित संसद्लाई नै फिर्ता पठाइदिएकी थिइन् ।

त्यसपछि पुनः संसद्ले दोस्रोपटक नागरिकता विधेयकलाई पहिले जस्तै हुबहु पारित गर्दै २० भदौ २०७९ मा राष्ट्रपतिसमक्ष पठाएको थियो । त्यसपछि पनि तत्कालीन राष्ट्रपति भण्डारीले सो विधेयकलाई प्रमाणीकरण नगरी रोकेरै राखिदिएकी थिइन् ।

तर, २५ फागुन २०७९ मा राष्ट्रपति निर्वाचित भएर आएका पौडेलले ९ महिनाअघि राष्ट्रपति कार्यालय आएको विधेयकलाई मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति निर्वाचित भएदेखि नै पौडेललाई नागरिकता विधेयक प्रमाणीकरण गर्न सत्तारूढ दलबाट दबाब थियो ।

राष्ट्रपति पौडेलबाट नागरिकता विधेयक प्रमाणीकरण भएपछि सत्तारूढ दल र विपक्षी दलको फरकफरक धारणा आइरहेको छ । सत्तारूढ दलका नेताहरूले नागरिकता विधेयक पारित हुनु जायज भएको प्रतिक्रिया दिँदै गर्दा सत्ताबाहिर रहेका दलहरूबाट भने विधेयकको विरोध भएको छ । राजधानी दैनिकबाट

    सम्बन्धित समाचार...