८ बैशाख २०८१, शनिबार

यात्रुले उडिरहेको जहाजको ढोका खोलिदिएपछि…

Asiana air

दक्षिण कोरियामा शुक्रबार उडिरहेको एउटा जहाजको ढोका खुलेको छ । एसियाना एयरलाइन्सको विमानको ढोका ल्याण्ड हुनुअघि नै खोलेपछि एक जना पक्राउ परेका छन्।

१९४ यात्रु बोकेको एसियाना एयरलाइन्सको फ्लाइट ओजेड- ८१२४ दक्षिण कोरियाको देगु अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड हुने तयारीमा थियो। सोही क्रममा जहाजको आपतकालीन ढोका खाेलिएकाे हाे। कोरियाली सञ्चारमाध्यमहरूका अनुसार जेजु आइल्यान्डबाट उडेको एसियाना एयरलाइन्सको जहाज थेगुमा अवतरण हुन लाग्दा आपतकालीन ढोकानेर बसेका यात्रुले ढोका खोलेका थिए ।

विमानभित्रैका एक यात्रुले विमानको आपतकालीन ढोका खोलिदिएकाे दक्षिण कोरियाली यायायात मन्त्रालयले जनाएकाे छ। उक्त व्यक्तिलाई अन्य यात्रुले रोक्ने प्रयास पनि गरेका थिए। तर सफल हुन सकेनन्। ढोका कति समयसम्म खुला रह्याे भन्ने बारेमा भने खुलाइएकाे छैन। स्थानीय समय १२:४५ तिर ढोका खुलेको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन्।

ढोका खुल्दा जहाज जमिनबाट २१३ मिटरमाथि उडिरहेको थियो। दुई-तीन मिनेटमै जहाज ल्यान्ड हुने तयारी थियो। अचानक ढोका खुलेपछि जहाजभित्र खैलाबैला भएको थियो ।

ढोका खुलिएकै रूपमा जहाज अवतरण भएकाे थियाे। जहाज दक्षिण कोरियाको दक्षिणी टापु जेजुबाट उडेको थियाे।

जहाजको आपतकालीन ढोका खोल्ने करिब ३० वर्षीय पुरुषलाई पक्राउ गरिएकाे छ। उनले आफूले ढोका खोलेको स्वीकारेका छन् तर त्यसको कारण खुलाएका छन्।

आपतकालीन ढोका खाेलिएसँगै जहाजका यात्रुहरू आत्तिएका थिए। केही यात्रुलाई सास फेर्न गाह्रो भएकाे थियाे। उनीहरूको अस्पतालमा उपचार भइरहेकाे छ।

घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेकाे छ।