११ बैशाख २०८१, मंगलवार

मानव मस्तिष्कमा कम्युटर चिप्स प्रत्यारोपण गर्न इलोन मस्कको कम्पनीलाई अनुमति

elon musk

मानव मस्तिष्कलाई कम्युटरसँग जोड्न चिप्स प्रत्यारोपणका लागि न्युरालिंकले अनुमति पाएको हो ।

ट्वीटर, टेस्ला, स्पेस एक्स लगायतका कम्पनीका मालिक एलन मस्कको अर्को कम्पनी न्युरालिंकको मस्तिष्कमा चिप्स प्रत्यारोपणपछि मानिसको गति र दृष्टि पुन:स्थापित हुने अपेक्षा कम्पनीको छ । खासगरी यो प्रविधि प्यारालाइसिस भएका र दृष्टिविहीनका लागि उपयोगी हुने न्युरालिंकले जनाएको छ ।

सिक्काको साइजको यो चिप्स यसअघि बाँदर तथा सुँगुरमा परीक्षण गरिएको थियो । यसले नशाको गतिविधि रेकर्ड गर्दछ र तारविहीन साधारण ब्लुटुथबाट स्मार्टफोनमा सूचना सम्प्रेषण गर्ने मस्कले जनाएका छन् । परीक्षण गरिने मानव तत्काल छनोट गर्ने कुनै योजना नभएको कम्पनीले जनाएको छ।

यस्तै कम्पनीको दाबीप्रति एफडीएले पनि कुनै प्रतिक्रिया जनाएको छैन । यसअघि न्युरालिंकको आवेदन सुरक्षाका कारण देखाउँदै एफडीएले अस्वीकार गरेको थियो ।

एलन मस्कलाई आफ्नो यो प्रविधिप्रति यतिधेरै भरोसा छ कि गतवर्ष उनले आफ्नो बच्चाको मस्तिष्कमा समेत यहीँ चिप लगाउन तयार भएको बताएका थिए ।

सन् २०१९ मै मस्कले सन् २०२२ सम्ममा न्युरालिंकलाई एफडिएबाट मानव ट्रायलका लागि स्वीकृति प्राप्त हुने दाबी गरेका थिए । तथापि एफडीएले भने न्युरालिंकको आवेदनलाई धेरैपटक अस्वीकार गरेको थियो ।

मानिसको दिमागमा जडान गर्ने भनेको चिपमा रहेको लिथियम ब्याट्रीप्रति एफडिएको सबैभन्दा ठूलो आपत्ति थियो । यदि कुनै कारणले चिपमा रहेको उक्त ब्याट्रीको रसायन मस्तिष्कमा चुहियो भने त्यसको परिणाम भयानक हुनसक्छ । न्युरालिंकको चिपमाथि सबैभन्दा ठूलो चुनौती मष्तिष्क कोशिकासँग रहेको छ ।

न्युरालिंकले यसअघि बाँदरको मष्तिष्कमा चिप प्रत्यारोपण गरेर परीक्षण गरिसकेको छ । न्युरालिंकले त्यसरी प्रत्यारोपित बाँदरको भिडियो पनि सार्वजनिक गरेको थियो जसमा चिप जडान भएको बाँदरले कम्प्युटर गेम खेलेको देखाइएको थियो ।

न्युरालिंकको यो परीक्षणका सम्बन्धमा बाँदरलाई क्षति पुगे नपुगेको सम्बन्धमा अनुसन्धान पनि चलिरहेको छ । साथै चिपलाई मष्तिष्कमा सही ढंगले प्रत्यारोपण गरे नगरेको विषयमा पनि जाँच भैरहेको छ ।

    सम्बन्धित समाचार...