२० बैशाख २०८१, बिहीबार

नक्कली शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धान प्रतिवेदन यस्तो

bhutsani

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकालाई प्रहरीले तीनवटा अभियोगमा मुद्दा अघि बढाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई राय दिँदै अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेकाहरूमाथिको अनुसन्धानपछि उनीहरूविरुद्ध ठगी, संगठित अपराध र राज्यविरुद्धको अपराधको कसुरमा मुद्दाअघि बढाउन भन्दै सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा १ सय ७८ पृष्ठको अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

परिसर काठमाडौंका एसएसपी दनबहादुर कार्कीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको र अब मुद्दाको प्रक्रिया अघि बढ्ने जानकारी दिए ।

भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै सरकारले रामबहादुर थापा गृहमन्त्री हुँदा ३० जेठ २०७६ मा गृह मन्त्रालयका पूर्वसहसचिव वालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । प्रहरीले सो प्रतिवेदनमा नाम उल्लेख भएका व्यक्ति नक्कली शरणार्थी रहेको सूचना पाएपछि सो प्रकरण बाहिर आएको थियो ।

प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा २७ करोड ५० लाख ७४ हजार ५ सय रुपैयाँ बिगो दाबी गरिएको छ । प्रहरीले बुझाएको प्रतिवेदनलाई अब जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अध्ययन गरेर जिल्ला अदालतमा मुद्दा दर्ता गर्नेछ ।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा ११४ जना पीडितको २१ वटा जाहेरीसमेत समावेश गरिएको छ । प्रतिवेदनमा १६ जना पक्राउ परेको र अन्य १६ जना नै फरार रहेको उल्लेख गरिएको छ ।

प्रहरीले नक्कली शरणार्थी प्रकरणमा हालसम्म पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको छ ।

यसैगरी, नक्कली शरणार्थी प्रकरणमा कांग्रेस पूर्वसांसद आङ्टावा शेर्पा, केशव दुलाल, टंक गुरुङ, सानु भण्डारी, सागर राई, पूर्व गृहमन्त्री खाँणका निजी सचिव नरेन्द्र केसी, सन्देश शर्मा, सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरी पनि पक्राउ परेका छन् ।

पछिल्लो समय प्रहरीले भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पनि पक्राउ गरी अनुसन्धान गर्दै आइरहेको छ । राजधानी दैनिकबाट

    सम्बन्धित समाचार...