२१ बैशाख २०८१, शुक्रबार

ओलीको चेतावनी, ‘फिर्ता लिएर पुर्नलेखन नगरे रिङ आउट’

oli

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले मुलुकको समस्या समाधान नहुने भन्दै त्यसलाई फिर्ता लिएर पुनर्लेखन गर्न चेतावनी दिएका छन् ।

प्रमुख प्रतिपक्षी दलका एमाले संसदीय दलका नेतासमेत रहेका अध्यक्ष ओलीले आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन नगरे ‘रिङ आउट’ गर्ने चेतावनी दिए ।

सरकारले आगामी नीति तथा कार्यक्रम आइतबार पेस गरेको थियो । सोही नीति तथा कार्यक्रमको छलफलमा सहभागी हुँदै ओलीले भने, ‘प्रधानमन्त्रीज्यू प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लिनुस् र पुनर्लेखन गर्नुस्, फिर्ता लिनुहुन्न भने छक्का हानेर पठाइदिनुपर्छ, रिङ आउट ।’

यो नीति तथा कार्यक्रमले मुलुकको समस्या समाधान नहुने बताउँदै उनले भने, ‘यस नीति कार्यक्रमले अब हुनेवाला केही छैन । यो पारित गर्न योग्य छैन, पारित गर्नुहुँदैन । सरकारको नीति नै ‘नीति शून्य नीति’ छ, उद्देश्य छैन । कहाँ पुग्ने गन्तव्य छैन । कसरी जाने भन्ने मार्गचित्र छैन, सर्वत्र नीति, शून्य नीतिको अवस्था देखियो ।’

नीति तथा कार्यक्रममा सरकार पूर्णरूपमा चुकेको र असफल भएको दाबी गर्दै ओलीले भने, ‘संविधानले प्रत्याभूत गरेको रोजगारी, आवासलगायतका मौलिक हक र राज्यका निर्देशक सिद्धान्तलाई आधा मानेर नीति कार्यक्रम प्रस्तुत गर्न सरकार पूर्णरूपमा चुकेको छ, असफल भएको छ ।’

अध्यक्ष ओलीले पछिल्लो निर्वाचनमा वर्तमान गठबन्धनले गरेको वाचा र नीति तथा कार्यक्रमलाई दाँजेर अध्ययन गर्दा तालमेल नमिलेको दाबी गरे । राजधानी दैनिकबाट