४ जेष्ठ २०८१, शुक्रबार

भ्रष्टाचारविरुद्ध राजनीतिक दलसमेत सडक प्रदर्शनमा: एकीकृत समाजवादीले प्रदर्शन गर्दै, राप्रपाको विरोध सभा

Madhav Nepal
फाइल फोटो

भ्रष्टाचारविरुद्ध राजनीतिक दलसमेत सडक प्रदर्शनमा उत्रिने भएका छन् । नेकपा एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणविरुद्ध आज काठमाडौंमा प्रदर्शन गर्दैछ ।

नक्कली शरणार्थी प्रकरणमा संलग्नहरूलाई कडा सजायको माग सत्ता साझेदार एकीकृत समाजवादीले दिउँसो ३ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागेको हो।

उक्त कार्यक्रमलाई पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने एकीकृत समाजवादीले जानकारी दिएको छ ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि आज भ्रष्टाचारविरुद्ध विरोध सभा गर्दैछ । विरोध सभा दिउँसो वसन्तपुरमा हुनेछ । सभालाई पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसअघि भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्दै सत्तारुढ गठबन्धनका विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले बिहीबार विरोध प्रदर्शन गरेका थिए । यस्तै एमाले निकट युवा संघ नेपाल र अनेरास्वियुले पनि प्रदर्शन गरेको थियो । नागरिक अगुवासहितको टोलीले पनि माइतीघरमा प्रदर्शन गरेको थियो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृह सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १४ जना पक्राउ परिसकेका छन्।

    सम्बन्धित समाचार...