१९ बैशाख २०८१, बुधबार

‘हिरासत’मा भीआईपी अभियुक्तहरु कोही डीएसपीको कोठामा, कोही इन्सपेक्टरसँगै

ktm police

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई सघाएको आरोप लागेका तीन जना पूर्वभीआईपी हाल प्रहरी अनुसन्धानका लागि हिरासतमा छन् ।

प्रहरीले नक्कली शरणार्थी प्रकरणमा नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री टोबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र सरकारका वर्तमान सचिव तथा पूर्व गृह सचिव टेकनारायण पाण्डेलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । सो प्रकरणमा संलग्न भनिएका अन्य १० जनासमेत अनुसन्धानकै क्रममा हिरासतमा छन् ।

सामान्यतया प्रहरीले पक्राउ गरेका अभियुक्तलाई थुनामा राख्ने स्थान फरक भए पनि निर्धारित ठाउँ एकै हुने गर्छ । तर, नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका भीआईपी अभियुक्तलाई भने प्रहरीले बसोबासका लागि अन्य अभियुक्त राख्नेभन्दा अलग्गै व्यवस्थापन गरेको छ ।

प्रहरीले पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका निलम्बित सचिव रायमाझीलाई प्रहरी वृत्त सोह्रखट्टेमा हिरासतमा राखेको छ । उनी आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठ पासिकोट भन्ने ठाउँबाट पक्राउ परेका थिए ।

रायमाझीलाई आइतबार पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौंको कार्यालय रहेको टेकु पुऔयाइएकोमा परिसरले उनलाई राति अबेर सोह्रखुट्टे वृत्तमा बसोबासको प्रबन्ध गरेर उतै राखेको थियो ।

प्रहरी स्रोतका अनुसार रायमाझीलाई वृत्तका प्रहरी निरीक्षक (इन्सपेक्टर) बस्ने कोठामा राखिएको छ । उनलाई खानासमेत त्यही प्रबन्ध गरिएको छ ।

यसैगरी, नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री खाँणलाई प्रहरी परिसर काठमाडौंमा हिरासतमा राखिँदै आइएको छ । उनलाई डीएसपी भरतबहादुर शाहको कार्यकक्षमा राखिएको छ ।

खाँणको रेखदेखका लागि कोठाबाहिर प्रहरी जवान बस्ने गरेका छन् । उनीहरू आलोपालो ड्युटीअनुसार फेरबदल हुन्छन् । रेखदेखका लागि खटिएका प्रहरीले बेलाबखत खाँणको अवस्था हेर्छन् । उनीसँग भेट गर्न आउनेहरूले एक्लै भेट्न पाउँदैनन्, भेटमा प्रहरीसमेतसँगै हुन्छन् । खाँणले जुनियर प्रहरी अधिकृतले प्रयोग गर्ने शौचालय नै प्रयोग गर्छन् ।

यसैगरी, सोही प्रकरणमा पक्राउ परेका पूर्वगृहसचिव पाण्डे भने सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ । उनलाई सो वृत्तका तीन जना इन्सपेक्टर बस्ने कोठामा हिरासतमा राखिएको हो ।

पाण्डेको रेखदेखका लागि आलोपालो हुने गरी एक जना प्रहरी जवान खटाइएको छ । पाण्डेलाई भेट्न जाने आफन्तले मोबाइल लिएर जान पाउँदैनन् ।

सो प्रकरणमा प्रहरीले पक्राउ गरेका अन्य अभियुक्तलाई पनि फरकफरक स्थानमा राखिएको छ । प्रहरीले उनीहरूलाई बयान लिने क्रम जारी राखेकाले अलगअलग राखिएको बताउँदै आइरहेको छ । राजधानी दैनिकबाट

    सम्बन्धित समाचार...