७ बैशाख २०८१, शुक्रबार

लद्दाखमा २० जना भारतिय सैनिकको ज्यान लिने चिनियाँ हतियार कस्ता थिए ? (तस्विर सहित )

indo pak china

सोमवार भारतसँगको सीमा विवादका विषयमा भएको हिंसात्मक भिडन्तमा चिनियाँ सैनिकहरूले प्रयोग गरेका भनिएको कच्चा हतियारहरूको तस्बिर सार्वजनिक भएको छ।

गलवान उपत्यकामा भएको उक्त भिडन्तमा कम्तीमा २० जना भारतीय सैनिकहरूको ज्यान गएको थियो र त्यसपछि दुवै शक्ति राष्ट्रबीचको तनाव चुलिएको थियो।

बिहीवार सार्वजनिक भएको तस्बिरमा फलामको डन्डीमा किला ठोकेर बनाइएको घरेलु कच्चा हतियार देख्न सकिन्छ।

उक्त तस्बिर बीबीसीलाई भारत-चीन सीमामा तैनाथ भारतीय सेनाका एकजना वरिष्ठ अधिकारीले उपलब्ध गराएका हुन् र उनले ती हतियार चिनियाँ सैनिकहरूले प्रयोग गरेका बताएका छन्।

bbc indo china fight
बीबीसीलाई यो तस्बिर भारतीय सेनाको एक उच्च अधिकारीले उपलब्ध गराएका हुन् जुन चिनियाँ सैनिकले भारतीय सैनिकसँगको भिडन्तमा प्रयोग गरेका बताइएको छ

उक्त भिडन्तमा आफ्नोतर्फ भएको सैन्य क्षतिबारे चीनले केही पनि स्वीकार गरेको छैन। दुवै पक्षले अर्को पक्षले सीमामा अतिक्रमण गरेको आरोप लगाएका छन्।

त्यस क्षेत्रमा दुवै राष्ट्रबीचको सीमा रेखा पक्कासँग अङ्कन गरिएको छैन र स्थानीय भौगोलिक परिवर्तनसँगै त्यसमा पनि परिवर्तन हुने गरेको छ।

किन हुँदैन गोली हानाहान ?

उक्त क्षेत्रमा गोली, बन्दुक, बारुदजस्ता अस्त्रको प्रयोग गर्न नपाइने व्यवस्था सन् १९९६ मा दुवै पक्षबीच भएको सहमति अन्तरगत भएको छ। सीमाको विवादित क्षेत्रमा दुवै पक्षबीच आक्रामक गतिविधि नचर्कोस् भन्ने उद्देश्यले त्यस्तो सहमति गरिएको थियो।

समाचार विवरणहरूका अनुसार दुवै पक्षका सैनिकहरूबीच ४,२६७ मिटरको उचाइमा हिमाली क्षेत्रमा भिडन्त भएको थियो र त्यसक्रममा कतिपय सैनिकहरू भीरबाट शून्यभन्दा कम तापक्रममा तीव्र गतिमा बग्ने गलवान नदीमा खसेका थिए।

सन् १९९६ को सहमतिअनुसार “लाइन अफ एक्चुअल कन्ट्रोल अर्थात् स्वीकार गरिएको अन्तिम सीमारेखाको दुई किलोमिटरभित्र उक्त सहमतिका कुनै पनि पक्षले गोली प्रहार गर्ने छैनन्……विस्फोटक सामग्री प्रयोग गर्ने छैनन् वा बन्दुक तथा बारुदको प्रयोग गरेर सिकार गर्नेछैनन्।”

तर चीन र भारतबीच आपसी सीमा क्षेत्रमा हालैका हप्ताहरूमा तनावपूर्ण भिडन्तहरू भएका छन्।

मे महिनामा भारतीय र चिनियाँ सैनिकहरूले लद्दाख इलाकामा नै पर्ने पान्गोङ ताल क्षेत्रमा र उत्तरपूर्वी भारतीय राज्य सिक्किमको सीमा क्षेत्रमा मुक्का हानाहान गरेका थिए।