१५ चैत्र २०८०, बिहीबार

रियललाई भ्यालेन्सियाको चुनौती, भ्यालेन्सियाविरुद्ध दबाबमा म्याड्रिड

Real Madrid vs valencia

स्पेनिस ला लिगा फुटबल अन्तर्गत बिहीबार दुई खेल हुँदैछन् । आज हुने खेलमा दोस्रो स्थानको रियल मड्रिडले आठौं स्थानको भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्दैछ ।

रियलको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार राति १:४५ बाट सुरु हुनेछ । आजको खेलमा रियललाई जित निकाल्नै पर्ने दबाब छ । शीर्ष स्थानमा रहेको बार्सिलोनासँग अंक दूरी कम गर्न रियलले जित निकाल्नु पर्नेछ ।

खेल म्याड्रिडको ‘बी’ टिमको खेल मैदान स्टेडियो अल्फ्रेडो डि स्टेफानोमा हुनेछ । रियलको आफ्नो मैदान सान्टियागो बर्नबेउ पुर्ननिर्माणको क्रममा रहेकाले अल्फ्रेडो डि स्टेफानोलाई घरेलु मैदानको रुपमा प्रयोग गर्दै आइरहेको छ ।

कोरोनापछिको पहिलो खेलमा रियलले यही मैदानमा एइबारमाथि ३–१ को जित निकालेको थियो । भ्यालेन्सियाविरुद्ध पनि रियल सोही जितको निरन्तरता दिँदै स्पष्ट जितसहित उपाधि दावेदारितालाई जीवितै राख्ने लक्ष्यमा हुनेछ । भ्यालेन्सियाविरुद्ध जित निकाल्न सकेको अवस्थामा रियलले पुन: शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी २ मा छोट्याउने छ । बराबरीले ४ तथा हारले ५ अंकले पछि पर्दै उपाधि यात्रा झिनो बन्नेछ । यस्तोमा रियल निश्चित जितकै लागि खेल्नेछ ।

रियलका लागि इडेन हाजार्ड, करिम बेन्जेमा, टोनी क्रुस, इस्को, क्यासमिरो, फेडरिको भाल्भेर्डे, कप्तान सर्जियो रामोस र गोलरक्षक थिवाउट कोर्टुवा भ्यालेन्सियाविरुद्धको खेलमा लागि उपलब्ध हुनेछन् । चोटका कारण मार्सेलोले खेल्ने सम्भावना न्यून छ । युवा स्टार भिनिसियस जुनियर, रोड्रिगो र ग्यारेथ बेलले सब्सिच्युट खेलाडीको रुपमा खेल्न सक्नेछन् ।

Real Madrid 1

एइबारमाथि ३–१ को जित निकालेपनि रियलको दोस्रो हाफको खेल बिर्सनलायक बनेको थियो । त्यो कमजोरीलाई रियलले भ्यालेन्सियाविरुद्ध सुधार्दै खेल्ने छ । पछिल्लो पाँच खेलमा रियलले २ मा जित निकाल्दा ३ खेलमा हार बेहोरेको छ । त्यसैले पनि रियल भ्यालेन्सियाविरुद्ध सचेत भएर मैदानमा उत्रनेछ ।

यता, भ्यालेन्सिया रियललाई स्तब्ध पार्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछ । रियलमाथि जित पाए भ्यालेन्सिया सातौं स्थानमा उक्लनेछ । बराबरी या हारले आठौं स्थानमा नै यथावत रहनेछ । भ्यालेन्सिया अघिल्लो खेलमा लेभोन्टेसँग बराबरीमा रोकिएको थियो ।

रियलविरुद्ध भ्यालेन्सियाका रोड्रिगो, म्याक्सीमिलियानो गोमेज, ड्यानिय पारेजो, फेरान टोरेस र गोलरक्षक जास्पर सिलेसन मुख्य हतियार हुनेछन् । भ्यालेन्सियाले रियललाई २०१९ अप्रिलमा २–१ ले पराजित गरेको थियो । त्यसयताको दुई खेलमा १ बराबरी र १ हारको नतिजा छ । जनवरीमा भएको सुपरकपको सेमिफाइनलमा भ्यालेन्सिया ३–१ ले पराजित भएको थियो ।

यि दुई टोलीको पछिल्लो २२ खेलको नतिजा हेर्दा रियल नै हावी छ । रियलले ११ खेलमा जित, ८ बराबरी र ३ हारको नतिजा निकालेको छ ।

शीर्ष स्थानको बार्सिलोना २९ खेलबाट ६४ अंकसहित शीर्ष स्थानमा छ । एक खेल कम खेलेको रियल ५९ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । आज नै हुने पहिलो खेलमा आलाभेसले पाँचौं स्थानको रियल सोसिडाडसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ११:४५ बाट सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै आलाभेस आफूलाई लिगमा १३ औँ स्थानमा पुर्‍याउने योजनामा छ । यता रियल सोसिडाड आफूलाई लिगको शीर्ष चारमा उकाल्ने योजनामा छ । 

रियलको सम्भावित शुरुवाती ११

थिवाउट कोर्टुवा, सर्जियो रामोस, फरल्यान्ड मेन्डी, राफयन भरान, ड्यानियल कार्भाहल, टोनी क्रुस, क्यासेमिरो, फेडेरिको भाल्भेर्डे, इस्को, करिम बेन्जेमा र इडेन हाजार्ड

भ्यालेन्सियाको सम्भावित शुरुवाती ११

जस्पर सिलेसेन, ड्यानियल वास, फ्रान्सिस, ह्युगो गुइलोमोन, जोउमी कोस्टा, फेरान टोरेस, जियोफ्रे कोन्डोग्बिया, ड्यानियल पारेजो, कार्लाेस सोलेर, रोड्रिगो र म्याक्सीमिलियन गोमेज

– एजेन्सी