४ जेष्ठ २०८१, शुक्रबार

खाणले स्वीकारे गिरोहसँगको भेट

bkhand

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले गिरोहलाई भेटेको स्वीकार गरेका छन् । मानव बेचबिखन गिरोहसँग खाणको प्रत्यक्ष सम्पर्क रहेको तथ्य खुलेको हो ।

प्रहरीलाई दिएको बयानमा खाणले गिरोहका नाइकेहरुसँग भेट गरेको स्वीकार गरेका छन् । तत्कालीन गृह सचिव टेकनारायण पाण्डेको अग्रसरतामा खाण र गिरोहबीच सम्पर्क स्थापित भएको बयान तथा अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणले देखाएको हो ।

कान्तिपुर दैनिकमा आज प्रकाशित ‘गिरोहलाई भेटेको खाणको स्वीकारोक्ति’ शीर्षकको समाचारमा यसबारे खुलासा गरिएको छ ।

‘केशव दुलाललाई मन्त्री खाँणसँग भेटाएपछि सचिव पाण्डेले गिरोहका अर्का सदस्य सानु भण्डारीलाई म्यासेज गरी भनेका थिए, ‘मन्त्रीसँग सबै कुरा भएको छ, काम अघि बढ्ने भयो।’ यो तथ्य सचिव पाण्डेकै मोबाइलबाट प्रहरीले फेला पारेको छ। गिरोहका नाइकेहरूसँग भेटेको खाँणले प्रहरीसँग स्विकारेका छन् ।’ समाचारमा उल्लेख छ ।

पूर्व गृह सचिव टेकनायारण पाण्डे पक्राउ परेपछि उनको बयानको आधारमा पूर्वमन्त्री खाण पनि पक्राउ परेका हुन् । पक्राउ पर्नुअघि पाण्डेले जस्तै खाणले पनि मोबाइल फर्म्याट गराएका थिए । पाण्डेको मोबाइलका डेटा रिकभर भइसकेका छन् । खाणको मोबाइल प्रयोगशाला पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले आज (आइतबार) सरकारी वकिलको रोहबरमा बयान लिने तयारी गरेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वमन्त्री खाणकी पत्नी मञ्जुको नामसमेत जोडिएको छ । खाण गृहमन्त्री हुँदा गृह मन्त्रालयमा रजगज गरेकी आरजुलाई मात्रै बचाउन कांग्रेस संस्थापन पक्ष लागेको भन्दै पार्टीभित्र आलोचना हुन थालेको छ ।

कांग्रेस संस्थापन पक्षकै सांसदको एक समूहले खाण दम्पतीलाई फसाएर आरजुलाई मात्र बचाउन खोजेको भन्दै सभापति देउवालाई चेतावनी दिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म उच्चपदस्थसहित १२ जना पक्राउ परेका छन् । पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्व उपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप पनि पक्राउ परिसकेका छन् । पूर्वमन्त्री रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपनि उनी भने हाल फरार छन् ।

    सम्बन्धित समाचार...