२० बैशाख २०८१, बिहीबार

‘मोखा’ चक्रवात बंगलादेश र म्यानमारतर्फ लाग्यो, नेपालमा प्रभाव पर्दैन : महाशाखा

weather LEFo8jlXjJ

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा विकसित ‘मोखा’ चक्रवातको प्रभाव नेपालमा नरहने देखिएको जनाएको छ ।

महाशाखाले शनिबार बिहान जारी गरेको मौसम बुलेटिनमा हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको तर चक्रवातको उल्लेखनीय प्रभाव नरहेको जनाएको हो ।

‘हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको छ,’ बुलेटिनमा भनिएको छ, ‘उक्त चक्रवात उत्तर-उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको हुनाले यसको नेपालमा उल्लेखनीय प्रभाव नरहने देखिन्छ।’

आज दिउँसो कोशीलगायत वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

ती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ। राति भने देशभरको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

भोलि (आइतबार) आंशिक बदली भइ कोशी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।

सोमबार पनि कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित क्षणिक वा हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

    सम्बन्धित समाचार...