१४ बैशाख २०८१, शुक्रबार

नेपाली नागरिक र भारतीय प्रहरीबीच सीमामा ढुङ्गा हानाहान

Capture

दार्चुलाको नेपाल-भारत सीमा क्षेत्रमा फेरि ढुङ्गा हानाहान भएको छ।

शुक्रबार नेपाली नागरिक र भारतीय प्रहरीबीच ढुङ्गा हानाहान भएको हो। भारतले सीमा नदी महाकाली नदी किनारमा निर्माण गरिरहेको पक्की तटबन्धको विषयलाई लिएर ढुङ्गा हानाहान भएको हो।

महाकाली नगरपालिका–१ का स्थानीय र भारतीय प्रहरीबीच सीमाको विषयलाई लिएर विवाद बढेपछि ढुङ्गा हानाहानको स्थिति सिर्जना भएको हो।

भारतीय पक्षले महाकाली नगरपालिका–४ बंगाबगरको पारी खोतिला क्षेत्रमा नदी किनारमा पक्की तटबन्ध निर्माण गरिरहेको छ। तटबन्ध निर्माणको क्रममा भारतीय पक्षले महाकाली नदीको नेपालतर्फको सीमामा आएर निर्माण सामाग्री निकाली रहेका बेला नेपाली नागरिकले रोक्न खोज्दा भारतीय प्रहरी र नेपाली नागरीकबीच ढुङ्गा हानाहान भएको स्थानीयले बताएका छन्।

भारतीय पक्षले सीमा नदी महाकाली नदीको बिच भागमा आएर निर्माण सामाग्री निकाली रहेको तथा नदीको धार परिवर्तन हुने गरी भइरहेको यस्तो गतिविधि रोक्न नेपाली नागरिकले सुरुमा आग्रह गरेका थिए। नेपाली नागरिकले गरेको आग्रहको बेवास्ता गर्दै भारतीय प्रहरीले कामलाई निरन्तरता दिन स्काईभेटर चालकलाई भनेको स्थानीयहरुले बताएका छन्। ‘मैले भारतीय पक्षलाई काम तत्काल रोक्न र आफ्नै भू–भागमा गएर काम गर्न भने, भारतीय प्रहरीले काम नही रुकेगा क्या करलोगे भने अनि ढुंगा हानाहानको अवस्थाको सिर्जना भयो,’ महाकाली नगरपालिका–१ का स्थानीयले रिपोर्टर्स नेपाललाई बताए। ‘भारतीय दादागिरी सहन नसकेपछि सुरुमा मैले नै ढुङ्गा हानेको हुँ,’ उनले भने।

नेपाली नागरिकले ढुंगा हानेपछि साइडमा खटीएका भारतीय प्रहरीले पनि नेपाली नागरिक माथि ढुङ्गा प्रहार गरेका थिए। केही बेर चलेको दुई देशका नागरिकबीचको ढुङ्गा हानाहानपछि नेपाली सुरक्षाकर्मी र सादा पोषाकका सुरक्षाकर्मी सो खटिएका थिए।

दुई देशका नागरिकबीच सीमा क्षेत्रमा भएका ढुङ्गा हानाहानको विषय सामान्य भएको नेपाल प्रहरीले जनाएको छ। ‘सीमामा ढुङ्गा हानाहान भएको विषय सामान्य हो अहिले त्यो विषय साम्य भइसक्यो,’ प्रहरीले भन्यो।

यस बारेमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले सो विषय सामान्य भएको र तनावपूर्ण स्थिति नभएको बताए। सीमा क्षेत्रमा ढुङ्गा हानाहान भएपछि नेपाल–भारत जोड्ने झोलुंगे पुलमा नेपालीलाई चेकजाँचमा कडाई गरिएको छ।

    सम्बन्धित समाचार...