३ जेष्ठ २०८१, बिहीबार

प्रधानमन्त्री र देउवाबीच भेट

Prachand deuba

प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेट गरेका छन् ।

बिहीबार बिहान बालुवाटार पुगेर देउवाले प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेको भोलिपल्ट सभापति देउवाले प्रधानमन्त्रीलाई भेटेका हुन् ।

देउवा पत्नी आरजु राणासमेत नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि देउवा दबाबमा छन् ।

प्रधानमन्त्री दाहाल र देउवाबीच भएको भेटवार्तामा के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन । यद्यपि, पछिल्लो समसामयिक विषयमा छलफल भएको बालुवाटार स्रोतको भनाइ छ ।

यस्तै, प्रधानमन्त्री दाहाललाई देउवाले भेटेलगत्तै एमाले उपाध्यक्ष सुवास नेम्वाङ बालुवाटार पुगेका छन् । एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरिसकेको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा असुल्ने प्रकरणमा राजनीतिक शीर्ष नेताहरू जोडिन थालेपछि यो विषय थप पेचिलो बनेको छ । यो प्रकरणमा उच्चपदस्थहरु धमाधम पक्राउ पर्न थालेसँगै राजनीतिक नेतृत्व तह तरंगित भएको छ ।

धमाधम पार्टीका शीर्ष नेता भुटानी शरणार्थी प्रकरणमा जोडिएपछि कांग्रेस, एमालेमा हलचल पैदा भएको छ । अझ बढी कांग्रेस सभापति देउवा र उनकी पत्नी आरजु यो प्रकरणमा चिन्तित् देखिएका छन् । योजनाकारले खाण पत्नी मञ्जु र देउवा पत्नी राणासहितको नाममा पैसा पठाएको अडियो सार्वजनिक भएपछि कांग्रेसवृत्तमा हलचल मच्चिएको छ ।

    सम्बन्धित समाचार...