२४ बैशाख २०८१, सोमबार

एमालेले निलम्बन गर्‍यो टोपबहादुर रायमाझीलाई

Top Bahadur Rayamajhi

नेकपा एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई पार्टीले कारबाही गरेको छ । नक्कली शरणार्थी प्रकरणमा प्रहरीको खोजीपछि फरार रहेका रायमाझीलाई पदबाट निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । 

सचिवालय बैठकले अविलम्ब सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धानलाई सघाउन निर्देशन दिँदा पनि रायमाझीले निर्देशनको पालना नगरेको भन्दै पार्टीबाट निलम्बन गरिएको महासचिव पोखरेलको वक्तव्यमा उल्लेख छ । 

‘राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई यससम्बन्धी अनुसन्धान र कानुनी कारबाहीको प्रक्रियाको अन्तिम टुंगो नलागेसम्म पदबाट निलम्बन गरिएको जानकारी गराइन्छ,’ महासचिव पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धानका लागि प्रहरीले पक्राउ पुर्जी जारी गरेको अवस्थामा फरार रहेका रायमाझीलाई पार्टीबाट निष्कासन गरेको विज्ञप्तिमा जनाइएको छ । ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा हाम्रो पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरिएको विषयमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी विधिको शासनमा विश्वास गर्दछौं । राज्यका वैधानिक संस्थाहरूले गर्ने अनुसन्धानका काममा सबैले सहयोग गर्नुपर्छ र कसैका बारेमा कुनै विवाद उठेमा त्यसबारे कानुनी सफाइ प्राप्त गर्ने दायित्व सम्बन्धित व्यक्तिकै हो भन्ने हाम्रो पार्टीको स्थापित मान्यता रहँदै आएको छ ।’

सोही मान्यताअनुरूप पक्राउ पूर्जी जारी हुनासाथ रायमाझीलाई राज्यका अनुसन्धान निकायमा उपस्थित भएर विधिवत् रूपमा आफ्‌नो यथार्थ स्पष्ट पार्न भनिएको एमालेले जनाएको छ । ‘उहाँले नेतृत्वलाई यस विषयमा सहमति पनि जनाउनुभएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर पार्टी नेतृत्वलाई दिएको विश्वासविपरीत उहाँ सम्बन्धित निकायमा उपस्थित नभएको विषयलाई हिजो बसेको केन्द्रीय सचिवालयको बैठकले गम्भीरतापूर्वक लिँदै उहाँलाई अविलम्ब सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको थियो ।’

081252549Yamale

    सम्बन्धित समाचार...