२१ बैशाख २०८१, शुक्रबार

अर्थविद् डा. चन्द्रमणि अधिकारी भन्छन्- ‘कपीपेस्ट’ गरेको बजेटले काम दिँदैन

Dr Chandra mani Adhikari

अर्थविद् डा. चन्द्रमणि अधिकारीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई उन्मुक्ति दिनु आत्मघाती कदम हुने औंल्याएका छन् ।

‘विगतका भ्रष्टाचार काण्डहरुको छानबिन निष्कर्षमा नपुगेकाले विभिन्न आशंका छन् । तर सरकारले यसमा हेलचेक्राइँ गरे ठूलो दुर्घटना निम्त्याउँछ । देशको सार्वभौमिकतामै पनि असर पर्न सक्छ सरकारलाई रोष प्रकट गरुन्जेल सुध्रने समय हुन्छ । नत्र त्यो सुसाइडल हुन्छ । यदि यसलाई दबाउने वा निष्क्रिय पारियो भने देश र जनता कसैको पनि हित हुने छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’सँग संवाद गर्दै डा. अधिकारीले भने । देशमा विकास, सुशासन र समृद्धि नहुनुमा स्रोतको चुहावट नै प्रमुख कारण रहेको पनि उनले औंल्याए ।

डा. अधिकारीले आगामी बजेट नियमित खालको थपघट वा कपीपेस्ट गर्ने खालको आउन नहुने बताए । उनले भने, ‘विश्व परिवेश नै आर्थिक मन्दीमा गुज्रेको छ, नेपालमा पनि मन्दीको चपेटामा परिसक्यो । उत्पादनको अवयवमा नकारात्मक अवस्था छ । राजस्व परिचालय न्यून छ । वैदशिक ऋण प्राप्त भएको छैन । साधन र स्रोतको कमी छ । बजेटको कार्यान्वयनको क्षमता अत्यन्त न्यून छ । यस्तो अवस्था सामान्य बजेट ल्याउन मिल्दैन ।’

बजेटमा अंकभन्दा प्रभावकारिता र स्रोतका दक्षता बढाउनुपर्नेमा डा. अधिकारीले जोड दिए । उनले थपे, ‘मितव्ययिता अहिलेको आवश्यकता हो । अनावश्यक र दोहोरो खर्च, कार्यक्रम र संरचना कटौती जरुरी छ । अनावश्यक विदेश भ्रमण, सवारी खर्च, सल्लाहकारको भीड कटौती गरी पुँजीगत खर्चमा कम्तीमा ३० प्रतिशत विनियोजन बढाउनुपर्छ ।’

वित्तीय अनुशासन कायम गर्न सक्दा अर्थतन्त्रमा सुधार आउन सक्ने उनको आकलन छ । डा. अधिकारीले भने, ‘हाम्रो अर्थतन्त्र थलै परिसकेको होइन । वित्तीय अनुशासन कायम गर्न सक्यौं भने अर्थतन्त्र सुधार्न सकिन्छ ।’

    सम्बन्धित समाचार...