७ बैशाख २०८१, शुक्रबार

पाल्पामा आगलागीबाट चार घर जलेर नष्ट, दुई घाइते

palpa aglagi

पाल्पाको रामपुर नगरपालिका–९, जब्गादी मधुकोटमा जंगल र घरमा आगलागी हुँदा निभाउने क्रममा दुई जना घाइते भएका छन् ।

जंगलमा लागेको डढेलो मधुकोट गाउँमा पसेपछि निभाउने प्रयास गर्दा स्थानीय दलबहादुर साठीघरे र उनको बुहारी लक्ष्मी घाइते भएको प्रहरीले जनाएको छ ।

डढेलो बस्तीमा पसेपछि निभाउने क्रममा घाइते भएका उनीहरुलाई उपचारको लागि रामपुर अस्पताल लगिएको छ । डढेलो बस्तीमा पसेपछि मधुकोट गाउँका पाँच घरगोठ जलेर नष्ट भएको वडाध्यक्ष डिलबहादुर रानाले जानकारी दिए । मंगलबार दिउँसो साढे ३ बजेको समयमा मधुकोट गाउँ नजिकैको जंगलमा लागेको डढेलो बस्तीमा पसेको थियो ।

डढेलोबाट दलबहादुर साठीघरे, ऐतुराम साठीघरे, खेमबहादुर साठीघरेको एक-एक, लोकबहादुर साठीघरेको दुई वटा घर जलेर नष्ट भएको वडाध्यक्ष रानाले जनाए । लोकबहादुरको दुई मध्ये एक घरमा आंशिक क्षति भएको छ ।

मधुकोट जंगलको आगो सुरुमा दलबहादुरको घर नजिकै रहेको सानो गोठमा लागेको थियो । घरमा कोही नभएको अवस्थामा एकपछि अर्को घर तथा गोठमा आगो सल्किँदै गएको प्रत्यक्षदर्शीले बताए ।

आगलागीबाट घरमा रहेका अन्न, लत्ताकपडा, नगद तथा गरगहना सबै जलेर नष्ट भएको वडाध्यक्ष रानाले जानकारी दिए । गाउँदेखि केही तल आर्यभन्ज्याङ–रामपुर सडक मर्मतमा खटिएकाहरुले बस्तीमा आगलागी भएको देखेपछि वस्तुभाउको उद्धार गरेका थिए । केही पशु चौपाया आगलागीमा परेका छन् । प्रहरी, नेपाली सेना, जनप्रतिनिधि र स्थानीय बासिन्दालको सहयोगमा आगलागी मंगलबार राति अबेर नियन्त्रणमा आएको छ । आगलागीबाट पीडित परिवार मध्ये केहीलाई छिमेकी र कतिपयलाई स्थानीय सिद्ध प्राथमिक विद्यालयमा बस्ने व्यवस्था मिलाइएको छ ।

    सम्बन्धित समाचार...